शिक्षकका छोराछोरीले बोर्डिङमा पढ्न नपाउने

शिक्षकका छोराछोरीले बोर्डिङमा पढ्न नपाउने

सिन्धुपाल्चोक/जिल्लाका सरकारी विद्यालयका शिक्षकका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमै पढाउनुपर्ने नियम ल्याइने भएको छ ।

जिल्लामा देखिएका शैक्षिक क्षेत्रका अन्याेल न्युनीकरण गर्न भन्दै भएको सरोकारवालाको भेलाले सो निर्णय गरेको हो । भेलाले शैक्षिक विकासका लागि ९ बुँदे साझा प्रतिबद्धता पनि जनाएको छ ।

जिल्ला शिक्षा समितिले स्थानीय सरकारका प्रमुख, शिक्षा क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी कार्यालयबीच आयोजना गरिएको छलफलमा यस्तो प्रतिबद्धता जनाइएको हो ।

सुनकोसी गाउँपालिकाको पांग्रेटारमा आयोजिता कार्यक्रममा जिल्लाका १२ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । कार्यक्रमपछि ९ बुँदे पांग्रेटार घोषणापत्र पनि जारी गरिएको छ ।

पछिल्ला दिनमा स्थानीय तहले बनाएका ऐनअनुसार स्थायी शिक्षकको सरुवा बढुवा आदिको अभिलेख केन्द्रमा नदेखिएकोले अभिलेखलाई व्यवस्थित बनाउने प्रतिबद्धताको पहिलो बुँदामा उल्लेख छ ।

तह मिलान तथा समायोजनमा परेका विद्यालय र शिक्षकहरुको विवरण व्यवस्थित गर्ने, शिक्षकको कुल दरबन्दी आवश्यकताका आधारमा सम्बन्धित विद्यालय वा अन्य विद्यालयमा पदस्थापन गर्ने व्यवस्था जिल्ला शिक्षा समितिले मिलाउने पनि सहमति भएको छ ।

जिल्लाका स्थानीय तहले आफूलाई सहज हुने किसिमका नियम कानुन बनाउँदा समस्या देखिएकाले ती ऐनको साझा मान्यतामा एकरुपता ल्याउने प्रतिबद्धतामा हस्ताक्षर गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्