वैकल्पिक ऊर्जाकाे अभियान, तराईबासीकाे भान्छा अब गुईंठामुक्त

वैकल्पिक ऊर्जाकाे अभियान, तराईबासीकाे भान्छा अब गुईंठामुक्त

काठमाडौं- सरकारले तराईबासीले खाना पकाउन प्रयोग गर्ने गाेबरकाे गुईंठा प्रतिस्थापन गर्न विशेष कार्यक्रम ल्याउने भएकाे छ । सबै नेपालीमा आधुनिक ऊर्जाको पहुँच पुर्याउने लक्ष्य पूरा गर्न विद्युतीय चुलो, वायो ग्यास र सुधारिएको चुलोले गुईंठा प्रतिस्थापन गर्ने कार्यक्रम ल्याउन लागिएकाे हाे ।

गुईंठा प्रतिस्थापन गर्न तराईका जिल्ला लक्षित बहुवर्षिय कार्यक्रम ल्याउने तयारी भइरहेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका उपकार्यकारी निर्देशक नवराज ढकालले बताए । उनका अनुसार चालु वर्षबाट नै गुईंठा प्रतिस्थापनका लागि तराई लक्षित कार्यक्रम कार्यान्वयन हुँदैछ । कार्यक्रम कार्यान्वयन गर्न केन्द्रले अहिले प्रारम्भिक चरणका कामहरू गरिरहेको उनले बताए । ‘ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको स्वेतपत्रमा आएको कार्यक्रम केन्द्रले कार्यान्वयन गर्न लागेको हो,’ उनले ऊर्जा खबरसँग भने, ‘स्थानीय तह र निजी क्षेत्रसँगको साझेदारीमा बहुवर्षिय कार्यक्रम लागु हुन्छ ।’गुईंठा प्रतिस्थापन कार्यक्रम कार्यान्वयन गर्न केन्द्रले ‘च्यालेन्ज फन्ड’ मार्फत अनुदानको व्यवस्था गर्ने पनि ढकालले बताए ।

कार्यक्रमलाई प्रतिस्पर्धात्मक र परिणाममुखी बनाउन ‘च्यालेन्ज फन्ड’ मार्फत केन्द्रले अनुदान दिनेछ । स्थानीय तहसँगको सहकार्यमा निजी क्षेत्रले पेश गर्ने उत्कृष्ट प्रस्ताव छनोट गरी विद्युतीय चुलो, वायो ग्यास र सुधारिएको चुलो जडानका कार्यक्रम सञ्चालन गरिने केन्द्रले जनाएको छ । कम लागतमा प्रभावकारी सेवा दिने निजी कम्पनीले ‘च्यालेन्ज फन्ड’बाट अनुदान पाउने छन् । अधिकांश तराईबासीले खाना पकाउने इन्धनको रूपमा गाई भैंसीको गोबरबाट बनेको गुईंठाको प्रयोग गर्दै आएका छन् । आधुनिक ऊर्जाको पहुँच नपुगेका दुर्गम गाउँका दलित, पिछडिएका, गरिब परिवारलाई पनि कार्यक्रमले समेट्ने केन्द्रकाे लक्षय छ। सन् २०३० भित्र स्वच्छ सबै नेपालीमा स्वच्छ ऊर्जाको पहुँच पुर्याउने सरकारी लक्ष्य पूरा गर्न गुईंठा प्रतिस्थापन कार्यक्रम महत्त्वपूर्ण हुने केन्द्रले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्