विश्वकप क्रिकेटमा भारतको पहिलो हार

विश्वकप क्रिकेटमा भारतको पहिलो हार

आईसीसी एकदिवशीय विश्वकप अन्तर्गत घरेलु टोली इंग्ल्याण्डले भारतबिरुद्ध ३१ रनको महत्वपूर्ण जित हासिल गरेको छ । सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राख्नका लागि जित्नैपर्ने खेलमा इंग्ल्याण्डले यो सफलता हासिल गरेको हो । तर उसको सेमिफाइनल प्रवेश अझै निश्चित भइसकेको छैन । सन् १९९२ यता इंग्ल्यान्डले विश्वकपमा भारतलाइ पराजित गरेको यो पहिलाेपल्ट पनि हाे ।

१० टोली सम्मिलित विश्वकपको राउण्ड रोविन लिग चरणको अन्तिम खेलमा न्युजिल्याण्डलाई पराजित गरेमात्रै इंग्ल्याण्डले अन्तिम चारमा स्थान बनाउनेछ । ८ खेलबाट इंग्ल्याण्डको १० अंक भएको छ । समान खेलबाट न्युजिल्याण्डको ११ र ७ खेलबाट भारतको पनि ११ अंक छ । ८ खेलबाट पाकिस्तानको ९ अंक छ । अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेमा र इंग्ल्याण्डले न्युजिल्याण्डसँग पराजय ब्यहोरेमा पाकिस्तान सेमिफाइनलमा प्रवेश गर्नेछ ।

जारी विश्वकपमा भारतको यो पहिलो पराजय हो । लिग चरणमा उसले श्रीलंका र बंगलादेशसँग खेल्न बाँकी छ । त्यसमध्ये एक खेलमा जित हासिल गरे पनि भारत सेमिफाइनलमा पुग्नेछ । इंग्ल्याण्डले दिएको ३ सय ३८ रनको विशाल लक्ष्य ओपनर रोहित शर्माको शतकका बाबजुद भारतले भेट्टाउन सकेन । उसले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै ३०६ रनमात्र बनाउन सक्यो ।

ओपनर केएल राहुललाई खाता खोल्नै नदिई क्रिश वोक्सले कट एण्ड बल गरेपछि आएका कप्तान विराट कोहलीले रोहितसँग मिलेर दोस्रो विकेटका लागि १ सय ३८ रनको शतकीय साझेदारी गरेपछि भारतको पारी उकासिएको हो । ७६ बलमा ७ चौकासहित ६६ रनको स्कोरमा खेलिरहेका कप्तान कोहली २९ औं ओभरमा लियम प्लंकेटको बलमा जेम्स भिन्सको हातबाट स्लिप क्षेत्रमा क्याच आउट भए ।

रोहितले जारी विश्वकपमा तेस्रो र करिअरको २५ औं एकदिवशीय शतक प्रहार गरे । उनले १ सय ९ बलमा १५ चौकासहित १ सय ४ रन बनाएर आउट भए । उनले ऋषभ पन्तसँग मिलेर तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । रोहितको विकेटसँगै भारतको पारी सुस्त हुन थाल्यो । पन्तले २९ बलमा ३२ तथा हार्दिक पान्ड्याले ३३ बलमा ४५ रन जोडेर आउट भए ।

पूर्व कप्तान महेन्द्र सिंह धाेनी ४२ र केदार जादव १२ रनमा अविजित रहे । यसअघि बर्मिङघमको एजबास्टोन रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३ सय ३७ रनको योगफल तयार पारेको थियो । इंग्ल्याण्डका ब्याट्सम्यानले उत्कृष्ट सुरुआत दिलाएका थिए । पहिलो विकेटका लागि जोनी वेरिस्टो र जोशन रोयले १६० रनको साझेदारी गर्दै भारतीय बलरमाथि हावी भएका थिए ।

६६ रन बनाएका रोयलाई कुलदीप यादबले सव्सीच्यूड फिल्डर रवीन्द्र जडेजाको हातबाट क्याच आउट गराए । ५७ बल खेलेका रोयले ७ चौका र २ छक्का प्रहार गरेका थिए । भारतले पहिलो सफलता २२.१ ओभरमा हात पारेको थियो । रोय आउट भएपछि क्रिजमा आएका जोय रुट र बेस्टिोले ४५ रनको साझेदारी गरे । उक्त साझेदारी मोहम्मद शामीले ऋषभ पन्तको हातबाट क्याच आउट गराउँदै तोडेका थिए । जसमा बेरिस्टो १११ रन बनाएर पेभेलियन फर्किए ।१०९ बल खेलेका वेरिस्टो भारतीय बलरमाथि पुरै हावी देखिएका थिए । उनले १० चौका र ६ छक्का प्रहार रे ।

तेस्रो विकेटको रुपमा इंग्ल्याण्डले कप्तान इयोन मोर्गनलाई गुमाएको थियो । मोर्गन जम्मा १ रन बनाउँदै आउट भएका थिए । उनलाई सामीले नै केदार जादवको हातबाट क्याच आउट गर्दै पेभेलियन पठाए । जोए रुट र बेन स्टोकले ७० रनको साझेदारी गर्दै इंग्ल्याण्डको स्कोर २७७ रन पुर्याएका बेला ४४ रनको व्यक्तिगत स्कोरमा मोहमद शामीबाट आउट भए । ८ बलमा २० रन बनाएर आक्रामक सट खेलिरहेका जोस बटलरलाई पनि सामीले कट एण्ड बोल्ड गर्दै आउट गराएका थिए । व्यक्तिगत पाँचौं विकेटको रुपमा शामीले क्रिस वेक्सलाई आउट गरे । ७९ रन बनाएका ब्रेन स्टोक्सलाई बुमराहले आउट गरेका थिए ।

भारतका भुवनेश्वर कुमार घाइते भएपछि प्लेयिङ सेटमा पर्दै आएका मोहम्मद शामीले आज पनि उत्कृष्ट बलिङ गरे । उनले निर्धा्रित १० ओभरमा १ मेडन राख्नै ६९ रन खर्चिएर ५ विकेट लिए । अन्तिम ओभरमा विकेट लिएका जसप्रित बुमराहले १० ओभरमा १ ओभेर मेडन राखेर ४४ रन खर्चिएर १ विकेट लिए । कुलदीप यादव, हार्दिक पाण्ड्या र युजबेन्द्र चहल महँगो सावित भए । कुलदीपले एक बिकेट लिएपनि ७२ रन खर्चिए भने विकेटविहीन बनेका चहल र पाण्ड्याले क्रमश ८८ र ६० रन खर्चिएका थिए ।

प्रतिक्रिया दिनुहोस्