विश्वकप क्रिकेटमा आज भारत र दक्षिण अफ्रिका भिड्दै

विश्वकप क्रिकेटमा आज भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगितामा आज उपाधिको दाबेदार मानिएको भारत र दक्षिण अफ्रिकाबीचमा प्रतिस्पर्धा हुँदैछ ।

इंग्ल्यान्डको साउथह्याम्पटनमा भारत र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समयानुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । जारी विश्वकपमा भारतको यो पहिलो खेल हो भने दक्षिण अफ्रिकाको यो तेस्रो खेल हुनेछ ।

पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको दक्षिण अफ्रिका निकै संकटमा देखिएको छ । आजको खेलमा पनि दक्षिण अफ्रिका पराजित भएमा उसको विश्वकप यात्रा निकै कठिन हुनेछ ।

यता, भारत भने आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्न चाहन्छ । कमजोर देखिएको दक्षिण अफ्रिकाविरुद्ध स्पष्ट जित हात पार्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा भारत छ । तर भारतलाई पराजित गर्दै पहिलो जित हात पार्ने दाउँमा दक्षिण अफ्रिका छ ।

उपाधि दाबेदार टिमको रुपमा रहेको भारत सन्तुलित टिम हो । अझ क्रिकेट पण्डितहरुले भारत अहिलेसम्मकै बलियो टिम भएको दाबी गर्दै आएका छन् ।

भारतको ब्याटिङ, बलिङ र फिल्डिङ यी तीनै पक्ष बलियो छ । शिखर धवन र रोहित शर्माको जोडीले ओपनिङ गर्दा, कप्तान विराट कोहली, केएल राहुल, केदार जाधव, दिनेश कार्थिक र महेन्द्रसिंह धोनी जस्ता ब्याट्सम्यान मध्यक्रममा छन् । त्यस्तै, रवीन्द्र जडेजा र हार्दिक पाण्ड्याजस्ता अलराउण्डर फिनिसिङ लाइनमा छन् ।

विशेषगरी आजको खेलमा भारतीय स्पिनरले मुख्य भूमिका खेल्ने छन् । कुलदीप यादव, रवीन्द्र जडेजा, युजभिन्द्र चाहालजस्ता स्पिनर आजको म्याच चेन्जरको रुपमा हुन सक्छन् ।

यता, दक्षिण अफ्रिकाले भने आफ्नो लय बिर्सिएको छ । कुनै बेलाका बलियो टिम अहिले खस्किँदो अवस्थामा छन् । तर दक्षिण अफ्रिकासँग विश्वका उत्कृष्ट ब्याट्सम्यान र बलरहरु भने नभएको होइन । तालमेल नमिल्नुको कारण विश्वकपमा दक्षिण अफ्रिकाको नतिजा सकरात्मक नआएको हो ।

कप्तान फाफ् डु प्लेसिस, हसिम अमला, डि कक, जेपी डुमिनी, डेभिड मिलर जस्ता विश्वचर्चित ब्याट्सम्यान छन् । त्यस्तै, इमरान ताहिर, कागिसो रबडा जस्ता बलर छन् । तर पनि नतिजा भने शून्य छ ।

प्रतिक्रिया दिनुहोस्