विभिन्न सावधानीहरू अपनाई विकासका कामहरू अगाडि बढाउने योजनामा छौंः वडाध्यक्ष गुरुङ

विभिन्न सावधानीहरू अपनाई विकासका कामहरू अगाडि बढाउने योजनामा छौंः वडाध्यक्ष गुरुङ

सुनवल । सुनवल नगरपालिकाको वडा नंं ४ ले कोरोना भाइरस नियन्त्रण गर्न विभिन्न कार्यक्रमहरू गरिरहेको छ । नेपालभरी संक्रमणको संख्या बढ्दै गएकोले वडामा पनि संक्रमण बढ्न सक्ने खतरा रहेको वडा अध्यक्ष बीर बहादुर गुरुङले बताउनुभयो । उहाँले संक्रमणबाट बच्न वडाले विभिन्न सावधानीका उपायहरू अपनाउँदै गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थामा हाम्रो वडामा संक्रमितको संख्या ३ जना रहेका छन् । उनीहरूको आइसोलेसनमा राखी उपचार भइरहेको छ । बाहिरबाट आउने व्यक्तिहरूलाई वडामै भएको भवनमा क्वारेन्टाइनमा राख्नुका साथसाथै होम क्वारेन्टाइनमा पनि राख्ने व्यवस्था गरेका छौं ।’

वडाले टोल टोलमा गएर यसबाट बच्नलाई अपनाउनुपर्ने उपायहरूको बारेमा सबैलाई जानकारी दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस वडामा १७ वटा टोल छ । १७ वटै टोलका आमा समूह र टोल सुधार समितिद्वारा परमार्श लिई सबैलाई कोरोनाबाट बच्ने उपायहरू सिकाइरहेको छ । ’
सुरुको अवस्थामा आपतकालिन सेवाबाहेक सबै बन्द गरेको वडाले हाल विभिन्न सावधानीहरू अपनाउँदै सबै सेवा सुविधा दिइरहेको वडाअध्यक्ष गुरुङले बताउनुभयो ।

महामारीले गर्दा विकासका कामहरू अगाडि बढ्न नपाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महामारीले गर्दा विकासका काम गर्न अप्ठ्यारो भएको छ । कागजी कामहरू सबै तयारी गरिरहेका छौं । यो महामारीबाट बच्ने उपाय अपनाई विकासका कामहरू अगाडि बढाउने योजनामा छौं । ’

प्रतिक्रिया दिनुहोस्