विदेशबाट आउनेलाई मात्र संक्रमण देखिएको छः मेयर चौधरी

विदेशबाट आउनेलाई मात्र संक्रमण देखिएको छः मेयर चौधरी

चितवन । केही महिनायता विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईरसले नेपालमा पनि भयावह रूप लिदै गएको छ । छिमेकी देश भारतमा संक्रमण डरलाग्दो रूपमा बढेको हुनाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि बढ्दै गएको देखिन्छ । नेपालमा तीन तहकै सरकार कोरोना भाइरस रोकथामका लागि धेरै प्रयासहरू गरिरहेका छन् । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीसँग नगरपालिकामा कोरोनाको प्रभाव र कोरोना रोकथामका लागि चालेको कदमका बारेमा केही सवालहरू गरेको थियो । उहाँसँग भएका छलफलको सम्पादित अंश ।


खैरहनी नगरपालिकाले कोरानाको सामना गर्न बिभिन्न उपायहरू अवलम्वन गरिरहेको छ । सम्भावित जोखिमहरूलाई अवसरको रूपमा लिएर काम गरिहेको मेयर लालमणि चौधरीले बताउनुभयो । गाउँपालिकामा विदेशबाट आएका ४५ जना व्यक्तिमा कोरोना संक्रमण देखिएकोमा २ जना व्यक्तिको मृत्युु भएको उहाँले बताउनुभयो । त्यसैगरी ८ जना ठीक भई घर फर्किसकेका छन् भने बाँकी ३५ जना आइसोलेसनमा रहेको उहाँले जानकारी गराउनुभयो । आइसोलेसेनमा रहेका ३५ जना मध्ये २५ जना होम आइसोलेसनमा छन् भने १० जना सामुदायिक आइसोलेसनमा रहेका छन् ।

हालसम्म ७०० जनाको पि.सि.आर परीक्षण गरिसकेको चौधरीले जानकारी गराउनुभयो । त्यसैगरी नगरमा सुरुमा १७ वटा क्वारेन्टाइनको व्यवस्था थियो भने हाल क्वारेन्टाइनमा बस्नेको संख्यामा कमी आएपछि जम्मा ३ वटा क्वारेन्टाइनको व्यवस्था गरेको चौधरीले जानकारी गराउनुभयो । अहिले भने क्वारेन्टाइनमा बस्नेको संख्या १५ जना रहेको छ । कोरोना भाइरससँग लड्न नगरपालिकामा चाहिने स्वास्थ्यकर्मी तथा प्रविधि हालसम्म नगरबाटै व्यवस्था गर्दै आइरहेको मेयरले जानकारी गराउनुभयो ।
महामारीसँग जुध्न सबैजना एकजुट भई लागिरहेको चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकदमै जटिल परिस्थितिको सामना गर्नुपरेको छ । अलिअलि भएपनि केन्द्र र प्रदेश सरकारबाट सहयोग प्राप्त भएको छ । यहाँका विभिन्न संघसंस्थाले नगरपालिकालाई सहयोग गर्ने प्रतिबद्धता समेत गर्नुभएको छ । यस कारणले गर्दा खासै गाह्रो महशुस भएको छैन ।’

नगरपालिकाले जनताको घर आँगनमै पुगेर सचेतना फैलाइरहेको छ । विभिन्न रेडियो कार्यक्रम तथा माइकिङ गरेर स्थानीयहरूलाई यस रोगबाट कसरी सुरक्षित रहने र सावधानी कसरी अपनाउने लगायतका विषयमा सचेत गराइरहेको छ । साथसाथै यस अवस्थामा यहाँका सबै नागरिक सचेत भइसकेको चौधरीले बताउनुभयो ।
महामारीले गर्दा विकास निर्माणका काम समयमै सकिन नपाउँदा चौधरीले दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभया,े ‘यस कोरोनाको कारण गत वर्षका कामहरु पनि सम्पन्न हुन सकेनन् । विकास निर्माण प्रयोग गरिने सामानहरु आउन सकेनन् र श्रमिक जति सबै भारतका थिए सोहिकारण अघि बढ्न सकेन । यस वर्षको सम्पूर्ण टेन्डर निकाली सकेका छौँ, बाहिरबाट जनशक्ति ल्याउने र उनीहरुको पि.सि.आर परीक्षण गरी मात्र काममा लगाउने निर्देशन दिएका छौँ । सम्पूर्ण विकास निर्माणका कामहरु दशै तिहार लगत्तै अगाडि बढ्ने योजना छ । ’

मिडियाले जनतासामु सत्य तथ्य समाचार फैलाउन एकदम महत्वपूर्ण भूमिका खेलेको भन्दै नगर प्रमुख चौधरीले नेपालभर रहनुभएका सम्पूर्ण नागरिकहरूलाई सचेत र सुरक्षित रहन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्