वडाबासीको घरदैलोमा महामारीविरुद्ध सचेतना फैलाइरहेका छौंः वडाअध्यक्ष यादव

वडाबासीको घरदैलोमा महामारीविरुद्ध सचेतना फैलाइरहेका छौंः वडाअध्यक्ष यादव

रायपुरी, रुपन्देही । महमारीको रूपमा विश्वरभर फैलिरहेको कोरोना भाइरसले नेपालमा पनि भयानक रूप लिइरहेको छ । छिमेकी देश भारतमा संक्रमण डरलाग्दो रूपमा बढेको हुनाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि बढ्दै गएको देखिन्छ । नेपालका तिनै तहको सरकार मध्ये कोरोना रोकथामको लागि स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण हुन्छ । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले मर्चवारी गाउँपालिकाको वडा नं. ३ का वडा अध्यक्ष नारायण बहादुर यादवलाई वडामा कोरोनाको प्रभाव कस्तो छ र यस महामारीको समयमा वडाले कसरी कामहरू गरिरहेको भन्ने कुराहरू राखेका थियौँ । उहाँले हालसम्म कोरोनाको खासै असर नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म महामारीको खासै प्रभाव परेको छैन । हालसम्म वडामा १ जना पनि संक्रमित देखिएको छैन । ’

त्यसैगरी बाहिरबाट आउने व्यक्तिहरूलाई होम क्वारेन्टाइनमै राख्ने व्यवस्था गरेको उहाँले बताउनुभयो । उहाँले जनतालाई सोचे अनुसारको काम गर्न नसेकेकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले संविधानअनुसार गाउँगाउँमा सिंहदरबार भन्ने स्थानीय सरकार त आयो तर जनताको अपेक्षा अनुसार काम भएको छैन । जनतालाई हरेका सुविधा दिन सकिरहेको छैनौं । ’

कोरोनाबाट बच्न वडामा विभिन्न कार्यक्रमहरू गरिरहेको उहाँले बताउनुभयो । वडाले टोल टोलमा गएर मास्क, स्यानिटाइजर, साबुन आदि वितरण गरी यसबाट बच्नलाई अपनाउनुपर्ने उपायहरूको बारेमा सबैलाई जानकारी दिएको उहाँले बताउनुभयो । यस महामारीको बीचमा एकदमै सहज तरिकाले सुविधा दिइरहेको सोहीकारण वडाका कामकारबाहीप्रति वडाबासीहरू केही हदसम्म सन्तुष्ट नै रहेको उहाँले बताउनुभयो । वडाले यस वर्ष विशेष गरी स्वास्थ्य, कृषि र यातायात क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाहरू ल्याएको यादवले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्