रामेछापमा ३ सरकारी कार्यालयहरुको समयमै पुनर्निर्माण सम्पन्न, छिटाे काम सकिएको भन्दै ठेकेदार घिमिरेले फिर्ता गरे राज्यलाई ४० लाख 

रामेछापमा ३ सरकारी कार्यालयहरुको  समयमै पुनर्निर्माण सम्पन्न,  छिटाे काम सकिएको भन्दै ठेकेदार घिमिरेले फिर्ता गरे राज्यलाई ४० लाख 

रामेछाप / रामेछापका ३ वटा सरकारी कार्यालयहरुको पुनर्निर्माण कार्य सम्पन्नपछि हस्तान्तरण गरिएकाे छ । भूकम्पबाट क्षतिग्रस्त शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र प्रमुख जिल्ला अधिकारी आवास निर्माण सम्पन्न गरि शुक्रबार हस्तान्तरण गरिएकाे हाे ।

एसियाली विकास बैंकको ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत साझेदारीमा उक्त भवनहरू निर्माण भएका हुन् ।
भवनहरु निर्माणका लागि सुनकोशी-खानी-थोदुङ्ग जेभि सँग १३ करोड ८ लाख ५७ हजार ६ सय ४४ रुपैयाँमा सम्झौता भएको थियो । भवनहरुको निर्माण सक्दा कुल १२ करोड ६८ लाख ७१ हजार ८ सय ३१ रुपैयाँ मात्र खर्च भएको निर्माण व्यवसायी रामबाबु घिमिरेले जानकारी गराए ।

निर्माण भएका भवनहरुमा कर्यालय प्रयोजन, आवास, क्यान्टीन, ग्यारेज र फर्निचरको सुविधा तथा परिसर समेतको सुविधा उपलव्ध छ । सबै भवनहरु अपाङ्गमैत्री रहेका छन् । निर्माण सम्पन्न भएका उक्त दुवै भवनहरु निर्माण व्यवसायी घिमिरेले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) रामेछापका आयोजना प्रमुख प्रभावकर लाल कर्णलाई चाबी हस्तान्तरण गरेका छन् ।

एसियाली विकास बैंकको सहयोगमा भूकम्पपछि एकिकृत ठेक्का प्रणालीबाट पुनर्निर्माण भएका उक्त भवनहरु भूकम्प अति प्रभावित १४ जिल्लामा याे पहिलो हाे । निर्माण भएका भवनहरुबाट तत्काल सेवा संचालन हुनेछ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना केहि दिनभित्रै नयाँ भवनमा सर्ने र शहरी विकास तथा भवन निर्माण विभागको आयोजना आसपासका जिल्लाको कार्यक्षेत्र वनाएर केही महिनामा रामेछापमा स्थापना हुँदैछ । हाल उक्त आयोजनाको फिल्ड कार्यालयले भवन प्रयोगमा ल्याइएको छ ।

ठेकेदार  घिमिरेले फिर्ता गरे राज्यलाई ४० लाख
समयमै ठेक्का नसक्ने रोग निर्माण व्यवसायीको पुरानै हो । निर्माण व्यवसायीको यो प्रवृत्तिले सिंगो देश नै आक्रान्त छ । निर्माण व्यवसायीको रवैयाले छवि नै धुमिल बनिरहेका बेला रामेछापका एक निर्माण व्यवसायीले भने नमूना काम गरेर देखाएका छन् । अधिकांश आयोजनामा निर्माण अवधि र लागत थप गर्ने गरिए पनि ती निर्माण व्यवसायीले तोकिएको समय अगावै थोरै लागतमा आयोजनाको काम फत्ते गरेका छन् ।
यति मात्रै होइन, उनले फाइदा भएको रकम पनि राज्यलाई फिर्ता गरेका छन् । रामेछाप सदरमुकाम मन्थलीका सात सरकारी भवन तोकिएको समयमा सम्झौताभन्दा कम लागतमै निर्माण भएका हुन। भूकम्पबाट क्षतिग्रस्त भवनको पुणर्निर्माण गर्ने निर्माण व्यवसायीले कम रकममा निर्माण सकाएर राज्यकोषमा ४० लाख रुपैयाँ जम्मा गरिदिएका छन् । यस्तो नमूना काम गर्ने निर्माण कम्पनी हो– सुनकोसीर खानीर थोदुङ जेभी । र, सञ्चालक हुन् -रामबाबु घिमिरे । घिमिरेकाे निर्माण कम्पनीले जिल्लाको ३ सरकारी भवन निर्माणको जिम्मा लिएकाे थियाे । त्यसकाे लागत रकम थियाे- १३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँ ।तर घिमिरेले लागत भन्दा कम रकममा नै निर्माण सम्पन्न गरिदिए । त्याे पनि निर्धारित समयमा नै । घिमिरेकाे उदाहरणीय कामबाट राज्यकाे ३९ लाख ८५ हजार ८ सय १३ रुपैयाँ बचेको छ ।

प्रतिक्रिया दिनुहोस्