रामेछापको नुम्बुर ट्रेकिङ सर्किटमा जादा हराएका युवा चार दिनपछि भेटिए

रामेछापको नुम्बुर ट्रेकिङ सर्किटमा जादा हराएका युवा चार दिनपछि भेटिए

रामेछाप ।  रामेछाप जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा पर्ने नुम्बुर ट्रेकिङ सर्किटमा जादाँ हराएका काभ्रेका मनिष युगल श्रेष्ठलाई प्रहरीले चारदिनपछि फेला पारेको छ । ४ जना सथिहरुसंगै ट्रेकिङ गएका काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ३ का ३४ बर्षिय श्रेष्ठ जेठ २५ गते बिहानबाट हराएका थिए । श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएका प्रहरीको टोलीले बुधबार गोकुलगंगा गाउँपालिका वडा नम्बर १ मानेडाँडा तेर्सेमा फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 
हराएको ४ दिनपछि भेटिएका श्रेष्ठको स्वास्थ्य अवस्था कमजोर रहेकाले उनलाई बोकेर मानेडाँडाको सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । श्रेष्ठ हराएको खबर आएपछि उद्धारका लागि आएको हेलिकप्टर समेत मौसम प्रतिकुलताका कारण फर्किएपछि जिल्ला प्रहरी कार्यालय रामेछापको टोली खोज तथा उद्धारका लागि गएको थियो । श्रेष्ठ हराएको स्थानमा पुग्न सदरमुकाम मन्थलीबाट सवारी यात्रामै ४ घण्टा लाग्छ । भौगोलिक अवस्था र बर्षातका कारण हराएको ४ दिनपछि भेटिएका श्रेष्ठलाई सदरमुकाम ल्याउँन कठिन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक सन्तोष कुमार भट्राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्