रबी लामीछाने समर्थकलाई प्रहरीको एक्सन, प्रक्राउ परे एक युवक

रबी लामीछाने समर्थकलाई प्रहरीको एक्सन, प्रक्राउ परे एक युवक

काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी उत्तमराज सुवेदीलाई फेसबूकमा गाली गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परेको विषयलाई लिएर एसएसपी सुवेदीलाई फेसबूकमार्फत गाली गरेको आरोपमा अछाम घर भएका युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा अछाम घर भएका रिदम बिसी भनिने शंकर बिक छन् । जिल्ला प्रहरी कार्यालय अछामको टोलीले उनलाई अछाम सदरमुकाम मंगलसेनबाट पक्राउ गरेको हो ।

पक्राउ परेका बिकमाथि थप अनुसन्धानका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) होविन्द्र बोगटीले शंकरलाई पक्राउ गरिएको बताए ।

‘जिल्ला प्रहरी कार्यालय अछामलाई पक्राउका लागि पत्र पठाइएको थियो । पक्राउ गरेर अहिले काठमाडौं ल्याइँदै छ,’ बोगटीले भने ।

शंकरले रवि लामिछाने पक्राउको विषयमा आक्रोश पोख्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुवेदीको तस्वीर राख्दै गालीगलौच गरेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शंकरले आफू गायक भएको बताएका छन् । उनले आफू लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला समिति अछामको कार्यसमिति सदस्य भएको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्