यसरी ल्याउन सकिन्छ २० लाख पर्यटक

यसरी ल्याउन सकिन्छ २० लाख पर्यटक

प्रचण्ड मान श्रेष्ठ
नेपाल भ्रमण वर्ष २०२० को लक्ष्यको रूपमा रहेको २० लाख पर्यटक भित्र्याउने कुरामा कुनै चिन्ता लिनु पर्ने म देख्दिन ।

अझै पनि ५ महिना बाँकी छ । खासमा अहिले पर्यटन बजारको ‘डेमोग्राफी चेञ्ज’ भएको छ । हिजोसम्म युरोप, जापान, नर्थ अमेरिका, अस्ट्रेलिया पर्यटनको उद्गमस्थल मानिन्थ्यो । अहिले आएर उनीहरूले चिनियाँ र भारतीयलाई आफ्नो ठाउँमा लगेर घुमाएका छन् । अहिले पर्यटनको उद्गमस्थल बजार चीन र भारतमा सरेको छ । चीन नम्बर एकमा छ अहिले चीनबाट नेपालमा एक/दुई लाख पर्यटक आइरहेका छन् । त्यसलाई दश लाख बनाउन कुनै गाह्रो छैन ।

त्यहाँबाट नेपाल पठाई रहेका १०/१५ वटा अपरेटर होलान् । त्यसलाई समातेर उनीहरूलाई के इन्सेन्टिभ दिनु पर्‍यो भनेर सोधे हुन्छ । त्यो पुरा गरेपछि डब्बल बनाउँछन्, त्यसका लागि उनीहरू आफैले काम गर्छन् । अझ पनि म भन्छु, २० लाख पुर्‍याउन गाह्रो छैन । तर मैले भन्न नसक्ने कुरा सम्बन्धित निकायहरूले त्यतातर्फ काम गरेको छ की छैन भन्ने चाहिँ हो । चीन र भारतलाई समात्ने हो भने कुनै गाह्रो छैन ।

म सन् २०११ को उदाहरण दिन्छु । त्यस बेला लक्ष्य पुर्‍याउन गाह्रो भएपछि भारतको पनि दिल्ली, मदरास, मुम्बई गएनौँ । उत्तर प्रदेश र विहारको सेकन्डरी सिटिज्मा गयौँ । हामी सानो सहर गयौँ । उनीहरूलाई अङ्ग्रेजी आउँदैन । पासपोर्ट बनाउन दिल्ली पुग्न सक्दैन । तर उनीहरूले कमाइसकेका छन् । सबै गाडी चढ्छन् ।

हामीले उनीहरूलाई टार्गेट गर्‍यौँ । हामीले लोकल एफएममा ‘गर्मी से बेहाल, चलो नेपाल’ भन्ने विज्ञापन बजायौँ । यसले पाँच लाखलाई त्यस क्षेत्रबाट नेपाल डोर्‍यायो । त्यो पाँच लाखको फिगर हाम्रो तथ्याङ्कमा आएन । किनभने तिनीहरू काठमाडौँ आएका होइनन् । आफै गाडी, आफै बस लिएर आएका हुन् । सप्ताहन्तमा उनीहरू कोही पाल्पा पुगे, कोही धनगढी पुगे होलान् ।

तर, त्यसलाई हामीले ट्र्याक गर्‍यौँ । कोही भारतीयले गाडी लिएर आयो भने हाम्रो कस्टममा रजिस्ट्रार गर्नुपर्ने हुन्छ । एक रात बसेको छ भने मतलब भएन । कति रात बस्यो भन्ने त्यहाँ रेकर्ड रहेछ । २० सिटको बस आएको छ पाँच दिनको पैसा तिरेको छ भने हामीले आधा जनाको मात्र हिसाब राख्यौ । हामीले त्यसरी हिसाब गर्दा चार महिनामा पाँच लाख मानिस आएको देखियो । त्यसैले २० लाख पुग्ला की नपुग्ला भनेर अलमलिनु पर्दैन । नजिकको छिमेकीहरू भारत र चीनलाई हेरे पुग्छ । चीनको अपरेटरलाई समात्नु पर्छ । भारतको त्यही उत्तरी क्षेत्रलाई समेट्यौँ र अलि अलि सहुलियत दिने हो भने मजाले २० लाख पर्यटक पुर्‍याउन सकिन्छ ।

पर्यटककै कुरा गर्दा खासमा भन्ने हो भने पर्यटकलाई न सरकारले आऊ भनेर, न व्यवसायीले आऊ भनेर आउने नै हुन् । हाम्रो पर्यटन व्यवसायीको अन्तर्राष्ट्रिय बजारमा पहुँच छैन । प्रचार गरेर आउँ छ की आउँदैन थाहा छैन । यसमा अहिले हाम्रोमा आइरहेका मध्ये विदेशका अपरेटरबाट कति आइरहेका छन् भन्ने हेर्नु पर्छ । अहिले झन्डै ५० प्रतिशत उनीहरूले पठाउँछन् । अव उनीहरूलाई समात्नु पर्छ । अहिले तिमीले ५० हजार पठाइरहेका छौ । अव डब्बल पठाउनु पर्‍यो । बरु हामीले तिमीलाई के गर्नु पर्‍यो? भनेर सोध्नु पर्‍यो । अव सम्बन्धित निकायले त्यस्तो ठाउँ पहिचान गर्नुपर्‍यो । बजार सीमित छन्, त्यहाँका अपरेटरलाई भन्नु पर्‍यो । बोलाउनु पर्‍यो र उनीहरूलाई सुविधा दिनु पर्‍यो ।

यो भ्रमण वर्ष किन भन्ने पनि प्रश्न आउला । हामीले १९९८ मा नेपाल भ्रमण वर्ष मनायौँ । यसको अर्थ त्यो भन्दा पछाडि पर्यटक नआउनु भनेको त होइन नि । यसरी कुनै वर्ष मनाउनुको अर्थ चाहिँ त्यसभन्दा अघि के भएको थियो भन्ने हो । त्यस बेला एउटा प्रयास भयो । कति सफल भयो भएन त्यो अर्कै कुरा भयो ।

१९९८ पछि मुलुक द्वन्द्वमा फस्यो । द्वन्द्व भएपछि आकर्षण हुँदाहुँदै पनि उद्योगी हुँदा हुँदै पनि अन्तर्राष्ट्रिय पर्यटक आउन सकेन । त्यसपछि सन् २००६ को नोभेम्बरमा दिल्लीमा सम्झौता भएपछि फेरी उठाउनु पर्‍यो यो क्षेत्र भनियो । अव कसलाई भन्न जाने ? मुखले भनेर त हुँदैन । विज्ञापन गरेर पनि हुँदैन । त्यसैलाई सम्बोधन गर्नका लागि हामीले २०११ मा नेपाल पर्यटन वर्ष भनेर निश्चित गर्‍यौँ । अव कुरा उठ्छ २०११ पछि २०२० को । २०११ को अन्त्यमा दुई वटा निर्णय गर्‍यौँ । हामीले १९९८ र २०११ को अनुभवबाट सिकेर यस्ता राष्ट्रिय अभियानको रूपमा मनाउँदा पर्यटन व्यवसायी र सम्बन्धित निकायको मात्र होइन, अरू व्यक्ति, समूह र समाज पनि मोविलाइज हुँदो रहेछ भन्ने बुझ्यौं । किनभने पर्यटन व्यवसायीको मात्रै वा सम्बन्धित निकायको मात्रै हुँदो रहेनछ । सामान्य ट्याक्सी ड्राइभरले कस्तो व्यवहार गर्छ भन्ने समेत धेरै ठुलो अर्थ राख्छ । त्यसैले हरेक दश वर्षमा पर्यटन वर्ष मनाउने निर्णय त्यस बेला भएको हो । यसको अर्थ पर्यटनसँग सम्बन्धित नभएको निकायहरूले पनि यसको बारेमा सोचोस् भन्ने हो । जस्तै गृह मन्त्रालयले राष्ट्रको सुरक्षा नीति बनाउँदा आफ्नो जनताको मात्र सुरक्षाबारे सोच्ने की थप २० लाख पर्यटकको सुरक्षा बारे पनि सोच्ने भन्ने हो । उनीहरूको पनि सुरक्षा गर्नु पर्‍यो । त्यो सोचियोस् नीतिमा समाहित होस् भनेर नै दश/दश वर्षमा पर्यटन वर्ष मनाउने भन्ने निर्णय गरिएको हो । त्यसका साथै बीचमा तीन/तीन वर्षमा विषयगत रूपमा मनाऔँ भन्ने थियो । त्यसैलाई भिजन २०२० भनेका थियौँ । अहिले दश वर्ष भयो तर बीचको तीन/तीन वर्ष हरायो ।

– नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख श्रेष्ठसँगको कुराकानीमा आधारित ।

प्रतिक्रिया दिनुहोस्