मिडिया, सामाजिक सञ्जालमार्फत नागरिकहरुलाई सुसुचित गर्दै छौं । वडा अध्यक्ष पंजियार

मिडिया, सामाजिक सञ्जालमार्फत नागरिकहरुलाई सुसुचित गर्दै छौं । वडा अध्यक्ष पंजियार

बेलाटारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । प्रतापपुर गाउँपालिकाको वडा नं. ९ ले कोरानाको सामना गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको छ । सम्भावित जोखिमहरूलाई अवसरको रूपमा लिएर काम गरिरहेको वडा अध्यक्ष हेमेन्द्र कुमार पंजियारले बताउनुभयो ।

हालसम्म वडामा कोरोना भाइरसको ठूलो प्रभाव नपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस वडामा कोरोना भाइरसले त्यस्तो असर गरेको छैन । सुरुमा ५ जनालाई संक्रमण देखिएको थियो तर उहाँहरूको लक्षण भने केही पनि देखिएको थिएन । उहाँहरूलाई आइसोलेसनमा राखेर ठीक भए पश्चात जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरी घर पठाएका थियौं । अहिले भने यस वडामा कोही पनि संक्रमित छैनन् ।’

त्यसैगरी बाहिरबाट आएका व्यक्तिको पि.सि.आर रिर्पोट नेगेटिभ भएकालाई मात्र वडाले १४ दिन क्वारेन्टाइनमा राखरे फेरि पि.सि.आर परीक्षण गराई छोड्ने गरेको पंजियारले बताउनुभयो । हालसम्म सबैले पि.सि.आर रिर्पोट देखाएको उहाँले बताउनुभयो । ग्रामीण बस्ती भएको हिसाबले केही मानिसहरूले लापरबाही गर्ने गरेका छन् तर गाउँपालिकासँग मिलेर यसलाई व्यवस्थापन गरिरहेको उहाँले बताउनुभयो ।

त्यसैगरी संक्रमण फैलिन नदिन वडाले बस्ती बस्तीमा माइकिङ गर्नुका साथै मिडिया, सामाजिक सञ्जाल मार्फत जनचेतना फैलाइरहेको वडा अध्यक्ष पंजियारले बताउनुभयो । वडाले हालसम्म दिएका सुविधाप्रति वडाबासी सन्तुष्ट नै रहेको उहाँले बताउनुभयो । कोरोना भाइरसको रोकथामलाई विशेष प्राथमिकतामा राखेर खानेपानी लगायत अन्य विकासका पूर्वाधारहरूलाई समेत अगाडि बढाउने उहाँको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्