महामारीलाई नियन्त्रण गर्दै विकासका कामहरू अगाडि लैजाने योजना छः उपाध्यक्ष भण्डारी

महामारीलाई नियन्त्रण गर्दै विकासका कामहरू अगाडि लैजाने योजना छः उपाध्यक्ष भण्डारी

गुल्मी । हाल महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाइरहेको छ । यस महामारीको असर नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएको छ । छिमेकी देश भारतमा संक्रमण डरलाग्दो रूपमा बढेको हुनाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि बढ्दै गएको देखिन्छ । नेपालका तीनै तहका सरकार मध्ये कोरोना रोकथामको लागि स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण हुन्छ । नेपाल मिडिया सेन्टरले गुल्मी दरबार गाउँपालिकाका उपाध्यक्ष मीना भण्डारीलाई गाउँपालिकामा कोरोनाको अवस्था कस्तो छ र रोकथामको लागि गाउँपालिकाले के कस्ता प्रयासहरू गरिरहेको छ भनेर सोधेका थियौँ । उहाँले गाउँपालिकामा संक्रमित व्यक्तिहरू सबै भारतबाट आएको बताउनुभयो । उपाध्यक्ष भण्डारीले भन्नुभयो, ‘गाउँपालिकामा ६४ जनालाई कोरोना संक्रमण भएको थियो ती मध्ये ६० जना पूर्ण रूपमा ठीक भइसकेका छन् बाँकी ४ जना भने होम आइसोलेसनमा हुनुहन्छ । ’

हालसम्म ३९० जनाको पि.सि.आर र ४८१ जनाको आर.डि.टी परीक्षण भइसेकेको उहाँले जानकारी गराउनुभयो । त्यसैगरी गाउँपालिकाले प्रत्येक वडामा क्वारेन्टाइनको व्यवस्थासहित संक्रमित व्यक्तिलाई उपचारको लागि आइसोलेसनको पनि व्यवस्था गरेको भण्डारीले बताउनुभयो । यस महामारीले गर्दा गाउँपालिकामा विभिन्न किसिमका समस्यासँग झेल्न परेको उपाध्यक्षले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थालाई लिएर मजदुर, व्यापार व्यवसायी सम्पूर्ण व्यक्तिहरूको गुनासो छ । काम गरेर खाने मान्छेले काम गर्न पाएका छैनन् । विकास निर्मार्णका कामहरू रोकिएका छन् । त्यसैले अब महामारीलाई नियन्त्रण गर्दै विस्तारै सबै कामहरू अगाडि लैजाने योजना छ । ’

कोरोनाको थप नियन्त्रण तथा न्यूनिकरणको लागि गाउँपालिकाले विभिन्न चेतनामुलक कार्यक्रम गरिरहेको छ । मास्कको प्रयोग, साबुनपानीले हात धुने, भौतिक दुरि कायम गर्ने, अनावश्यक बाहिर ननिस्कने लगायतका विषयहरूमा गाउँपालिकाले स्थानीयहरूलाई सुसुचित गराइरहेको छ । सत्य तथ्य कुराहरू जनतासामु पुर्याउने काम मिडियाले नै गर्नेभएकाले स्थानीय सरकार र मिडियाबिच सहकार्य राम्रो हुनुपर्ने तर्क उपाध्यक्ष भण्डारीले राख्नुभयो । उहाँले सम्पूर्ण नेपालीलाई कोरोनाबाट बच्न साबधानी अपनाउन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्