मन्थली नपा. वडा नं १३को सार्वजनिक सुनुवाई सम्पन्न

मन्थली नपा. वडा नं १३को सार्वजनिक सुनुवाई सम्पन्न

पुष्कर खड्का, रामेछाप/ रामेछापको मन्थली नगरपालिका वडा नं १३ फुलासीले प्रवाह गरेको सार्वजनिक सेवाको प्रभाकारीता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार वडा कार्यालयमा सम्पन्न भएको छ ।

वडा कार्यालयको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) र मानवअधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाको सहजिकरणमा कार्यक्रम भएको हो । कार्यक्रममा वडा सचिव कुलबिक्रम श्रेष्ठले वडा कार्यालयले सम्पादन गरेको कामको बारेमा जानकारी दिएको थिए । उनले यस वर्ष नगरपालिकाका २६ वटा, प्रदेश सरकारका ३ वटा र केन्द्र सरकारका एक योजना वडामा सञ्चालनमा रहेको जानकारी दिए ।

त्यस्तै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका ४ वटा योजना पनि सञ्चालनमा रहेको उनले जानकारी दिए । ती मध्ये ८० प्रशित भन्दा बढी काम सम्पन्न भएको श्रेष्ठले जानकारी दिए । यस आर्थिक वर्षको दैनिक सेवा प्रवाह तर्फ ९ सय २४ वटा शिफारिस तथा १ सय ७३ वटा पञ्जिकरणको काम भएको पनि उनले जानकारी दिए । त्यस्तै १ सय ३६ जनालाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको र ५ वटा विवादहरु मिलाइएको पनि उहाँले जानकारी दिए ।

यस अवधिमा ५९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको, निजि आवास निर्माण तर्फ ७ सय २८ घरधुरीमध्ये ६ सय ७१ घर निर्माण सम्पन्न भएका तथा २५ घरको प्रवलिकरणको काम सम्पन्न भएको उनले जानकारी दिए । कार्यक्रमका सहभागिहरुले निर्माणाधिन देवीटार फुलासी सडक गुणस्तरीय बनाउनु पर्ने, शिक्षाको क्षेत्रमा सुधार गर्नु पर्ने तथा खानेपानीको संकट समाधानको लागि काम गर्नु पर्ने सुझाव दिएका थिए ।

सहभागिको प्रश्नको जवाफ दिँदै वडाअध्यक्ष राजेन्द्र चौहानले नागरिकबाट आएका सुझाव र गुनासोलाई सम्बोधन गरि अघि बढ्ने प्रतिद्धता व्यक्त गरे । कार्यक्रममा सडक निर्माणको काममा गुणस्तरीयता प्रदान गर्ने, वडामा रहेका सामुदायीक विद्यालयलाई शैक्षिक व्यवस्थापन प्रभाकारी वनाउँदै भौतिक निर्माणको काम निर्धारित समयमा समापन गर्ने गरी काम गर्ने र जीवनसंग जोडिएको खानेपानी तथा सरसफाईको कार्यक्रम सञ्चालन गर्ने ३ बुँदे प्रतिवद्धता जारी गरिएको छ । कार्यक्रमको सहजिकरण मानवअधिकारकर्मी पत्रकार नवराज पथिक र कैलाश खत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्