मनकामना केवलकारको भाडा बढ्यो

मनकामना केवलकारको भाडा बढ्यो

काठमाण्डौ । मनकामना दर्शन प्रालिले मन कामना मन्दिर जाने केबलकारको भाडा पाँच प्रतिशतले बढाएको छ । बढाएको भाडा भदौ १ गतेदेखि लागु भएको प्रालिले जनाएको छ । चितवनको कुरिन टारदेखि मनकामना मन्दिरसम्मको केवलकारको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ रहेकोमा अहिले बढाएर ६ सय ७५ रुपैयाँ पु¥याइएको छ । एकतर्फी यात्राको भाडा तीन सय ९५ रुपैयाँ पुगेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले भाडा बढाउने निर्णय गरेको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिएन कायस्थले बताए । स्थानीय तहलाई तिर्नुपर्ने कर बढेकाले भाडा बढाइएको उनको भनाइ छ । केवलकारको तल्लो स्टेशन चितवनको इच्छाकामना गाउँ पालिकामा र माथिल्लो स्टेशन गोरखाको शहीद लखन थापा गाउँपालिकामा छ । दुबै स्थानीय तहलाई प्रति टिकट एक प्रतिशत कर तिर्नुपर्ने र कर्मचारी तलब २० प्रतिशत बढाएकाले मूल्य बढाएको प्रालिले जनाएको छ ।
स्थानीय सरकार गठन हुनुअघि कम्पनीले गोरखा र चितवनको साविक जिल्ला विकास समितिलाई कर तिर्दै आएको थियो । अहिले सो कर स्थानीय तहलाई तिर्नुपर्नेछ । तर पहिले र अहिलेको करमा कुनै फेरबदल नभएकाले स्थानीय तहलाई कर बुझाउने बहानामा भाडा बढाउनु उचित नभएको शहीद लखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्