भारतमा अत्याधिक गर्मी बढेपछि जनजीवन प्रभावित

भारतमा अत्याधिक गर्मी बढेपछि जनजीवन प्रभावित

काठमाण्डौ/छिमेकी देश भारतमा गर्मी बढेर ५० डिग्रीको हाराहारीमा पुगेपछि जनजीवन प्रभावित भएको छ । बीबीसीले जनाए अनुसार देशभरका विभिन्न क्षेत्रको तापमानले ४५ डिग्री पार गरेपछि भारतले गर्मीको तीव्र लहरको सामना गर्नु परिरहेको छ ।

उत्तरी प्रदेश राजस्थानस्थित चुरु शहर, भारतको सबैभन्दा बढी गर्मी हुने शहर हो जहाँको तापमान आइतबार ५०.८ डिग्री पुगेको मौसम विभागले जनाएको छ । यस्तोमा राजस्थान सहित मध्य प्रदेशलाई चरम गर्मी सम्बन्धी सावधानीपूर्ण निगरानीमा राखिएको छ । गर्मी सबैभन्दा उच्च बिन्दुमा पुगेको बेला दुवै प्रदेशमा समान तापमान देखा पर्ने गरेको छ ।

तर यो वर्ष अन्य क्षेत्रहरुमा पनि गर्मी अत्यन्तै बढेको पाइएको छ । यसरी अस्वभाविक रुपमा वृद्धि भइरहेको गर्मीले विशेषगरी बेघरहरुलाई सबैभन्दा बढी असर गरिरहेको छ भने उच्च तापमानका बावजुद लगातार बाहिर काम गरिरहनुपर्ने ट्राफिक पुलिस, रिक्सा चालक, सडक व्यापारी लगायतलाई पनि उत्तिकै गम्भीर प्रभाव पारिरहेको छ ।

त्यसपछि घरघर गइ डेलिभरी गर्ने अमेजोनका कर्मचारी वा फुड डेलिभरी एपका कामदारहरु पनि उच्च तापक्रमको शिकार भइरहेका छन् । उनीहरुले रेस्टुरेन्टका खाना मान्छेको घरसम्म पुर्याउने गरेका छन् । अत्याधिक गर्मीका कारण मानिसहरु बाहिर निस्कन छाडेपछि डेलिभरिका कर्मचारीहरुमा कामको भार अत्यन्तै वृद्धि भइरहेको बताइएको छ ।

यसरी सोमबार विश्वका सबैभन्दा गर्मी हुने शिर्ष १५ शहरहरुमा भारतका मात्र सातवटा शहरका नाम परेका छन् भने बाँकी आठ चाहिँ पाकिस्तानमा रहेका छन् । पाकिस्तानको जकोबबादमा ५१ डिग्री तापमान रेकर्ड भएपछि सो स्थानलाई सोमबार पृथ्वीको सबैभन्दा गर्मी ठाउँ भनिएको हो ।

भारतको मौसम विभागका अनुसार यो वर्ष मनसुन सुरु हुनमा ढिलाइ भएकाले नै गर्मी अझै केही दिन कायमै रहनेछ । यसबीच केही शहरहरुमा स्वयमसेवकहरुले सडकको किनारामा वा ट्राफिक लाइटमा बसेर पानी लगायत चिसो पेय पदार्थ निःशुल्क वितरण गरिरहेका छन् । यता राजधानी दिल्लीमा पनि पुलिसहरुले छाता मुनि बसेर सवारी नियन्त्रण गरिरहेका छन् । त्यस्तै कतिपय शहरमा गर्मीकै कारण उत्पन्न भएको सुख्खापनले पानीको चरम अभाव गराएको छ । तर फेरि अम्रितसर लगायतका केही शहरमा भने सार्वजानिक स्वीमिङ पुलमार्फत मानिसहरुले राहत पाइरहेका छन् जहाँ मान्छेको भीडभाड बढ्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्