बडा दशैंः आज आठौं दिन महाअष्टमी, के छ अष्टमीको महत्व ?

बडा दशैंः आज आठौं दिन महाअष्टमी, के छ अष्टमीको महत्व ?

काठमाडौं । आज अष्टमी । बडा दशैंको आठौं दिन । यसलाई महाअष्टमी पनि भनिन्छ । यो नेपालीहरूको अर्को ठूलो चाड हो । पूजाकोठा, दशैंघर अथवा मण्डपमा वैदिक विधिर्पूवक घटस्थापना गरिएको ठाउँमा महाष्ठमीको दिन विशेष भक्तिर्पूवक पुजाआजा गरिन्छ । यस दिन महामाया भगवतीको अतिरिक्त नवदुर्गा भगवतीको पनि प्रतिमा स्थापना गरेर पूजा आराधना गरिन्छ । घरघरमा राखिएका वा कलकारखानामा रहेका हतियारलाई धोइपखाली महादेबी दुर्गाको हतियारको रुपमा स्थापना गरि पुजा गर्ने गरिन्छ ।

मध्यरातमा बालिसहित कालरात्रिको पूजा गर्ने चलन छ । आजको दिन विहानैदेखि देशभरि शक्तिका प्रतीक मानिने महाकाली, महालक्ष्मी र देवी भगवतीका मन्दिरहरूमा भक्तजनहरूको भीड लाग्ने गर्छ । यस दिन असुरहरूको विनासका लागि जगदम्बा भवानीको अंशबाट नौ वटी दुर्गा शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघन्टा, तारा, महाकाली, चामुन्डा, कालरात्री, महागौरी, छिन्नमस्ता आदि प्रकट भएर असुरहरूको बध गरेको प्रतीक स्वरुप बली पूजा गर्ने चलन छ । बलीप्रथा विभत्स देखिन्छ । यद्यपि बली चढाइएका पशुले जन्मान्तरको पशु योनीबाट मुक्ति पाउछन् भन्ने जनविश्वास छ । पशुवली नगर्ने घरमा पनि कुभिन्डोलाई चौपाया पशुको प्रतीक बनाएर बलि दिने चलन छ । बलि दिएको चौपायाको मासुलाई नवदुर्गाको प्रसाद मानेर खाने गरिन्छ ।


यस दिन खानपिन, नाचगान गरेर रमाइलो गरिन्छ । नयाँ बस्त्र, आभुषण लगाएर पिङ खेल्ने गरिन्छ । यसै दिन मध्यरात्रिमा समेत चन्डमुन्ड कालरात्रीको तान्त्रिक विधिले पूजा गरिन्छ । आजको दिन भद्रकालीको पनि विशेष पूजाअर्चना गरिन्छ, सतिदेवीले आफ्नो पती महादेवको आफ्नै पिता दक्षप्रजापतीको मुखबाट गरीएको निन्दा सुन्न नसकेर अग्नीकुण्डमा हामफालेर आत्मदाह गर्द्छिन् । त्यसै बखत यो कुरा थाहा पाएर रिसले चुरचुर भएका महादेवबाट महाकालीको रुपमा भद्रकाली यसै दिन प्रकट भइन् । शक्तिकी महास्वरुपा महागौरी र भद्रकाली स्वरुपको अनुष्ठान गरिसकेपछि आजको दिन वलिदिने चलन छ । यसरी वलि दिंदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र वलि दिन नचाहनेहरुले कुभिन्डो, घिरौला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना साना लठ्ठी हालेर जनावरको स्वरुपमा वलि दिने गर्दछन् ।

आजको दिन हनुमान ढोकास्थित तलेजु भवानी मन्दिरको दशैं घरमा ५४ वटा राँगा र ५४ वटानै बोकाको वलि दिइन्छ । काठमाण्डौ उपत्यका वरिपरिका शक्तिपीठहरु जस्तै दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भग्वती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका मन्दिरहरूमा पूजा आराधना गरी बलि चढाउनेहरुको घुइँचो लाग्ने गर्छ । त्यसैगरी सप्तरीको भारदहस्थित कंकालिनी देवीको मन्दिर लगायत सप्तरीकै छिन्नमस्ता मन्दिर, बारा जिल्लाको बरीयारपुरमा रहेको गढीमाई मन्दिर, पर्सा जिल्लाको वीरगञ्जस्थित विर्ता माई, गहवा माई, केहुनियास्थित विन्दवासिनी माई, अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिर, मोरङ्ग जिल्लाको विराटनगरमा रहेको काली मन्दिर, अछाम जिल्लाको मार्कुमा रहेको सान्नीकोट मन्दिर लगायत नेपालभरिकै शक्तिपीठहरुमा हजारौंको संख्यामा खसीबोका, राँगा, हाँस र कुखुरालाई वलि चढाइन्छ ।

काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा लगायतका मन्दिरहरूमा पनि शक्तिरूपा भगवतीको पूजा अर्चना गर्दै दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ । वलि दिने कुराको आजभोली चौतर्फी रुपमा विरोध हुन थालेको छ, जनावर अधिकारसंग सम्बन्धित संघ–सस्थाहरुले अनि अन्तराष्ट्रिय नागरीक समाजहरुले यस्ता कार्यहरुलाई निन्दनीय भनेर ब्याख्या गरेको छ । अहिंसा पक्कै पनि राम्रो कुरा हो तथापि सभ्यतासंगै मासु खान जनावरहरुलाई प्रयोग गरिआएको चलनको मांशाहारीले पनि आ–आफ्नै तवरले ब्याख्या गरेका छन् । चाहे हिन्दुहरुको दशैं होस् या क्रिस्टियनहरुको क्रिसमस अनि थ्याङक्स गिभिङ्गमा खाइने टर्की चराहरु या मुसलमानहरुको इद बकरइदमा काटिने खसी बोकाहरु, कहिंकतै धर्म र संस्कारहरुबाटै मानव सभ्यताले मांशाहारी चलन बोकेर ल्याएको कुरा पनि हामीले पछ्याइ आएका छौं । अहिले आएर वलि दिने कुरामा धेरै कमी आएको पाइएको छ ।

विशेषतः दशैंमा खसी काट्नैपर्ने, ज्वाँइपाहुनालाई मासु खुवाउनैपर्ने चलनलाई सम्मान र प्रतिष्ठाका रुपमा हेरिन्थ्यो । बिहानैबाट खसि काट्ने घरमा विशेष चहलपहल रहन्छ, पानी तताउने अनि काट्ने मान्छे वोलाउने लगायत कस्को घरको खसी कति किलोको भयो ? कस्को घरको खसी कुन रङ्गको ? आदिजस्ता जिज्ञासा र उत्सुक्ता विशेषगरि केटाकेटीहरुमा रहने गर्दछ । पहिले पहिले बजारमा मासु किनेर खाने चलन नभएकाले र बजारमा सहज मासुको उपलब्धता नहुने अनि कृषिप्रधान समाज भएकाले घरमै पालिएको खसी बोकाहरुको सहज उपलब्धता भएकाले पनि वलि दिने चलन धेरै थियो तर आजभोली बजारमा सहज उपलब्ध मासु अनि मासु सेवनप्रतिको घट्दो आशक्तिले पनि हुनसक्छ घरैपिच्छे बलि दिने चलन घटेर गइरहेको छ ।

अर्को तर्फ मासुहरु राख्नकालागि चाहिने चिस्यान यन्त्र अर्थात फ्रिजहरुको उपलब्धता धेरै नेपाली घरहरुमा नभएको कारणले पनि मासुहरु स्वस्थ्यवर्धक रहिरहन पाउँदैनन अनि धेरै चिल्लो गरेर पक्कु मासुहरु धेरै दिनसम्म राखेर खाने चलनले स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको हुनसक्दछ । यस विषयमा मासु सेवनगर्दा सचेत रहन जरुरी छ ।
संस्कृतमा वलिको अर्थ कुनैपनि कुरा त्यागिदिनु भन्ने बुझिन्छ, आजको दिन हामीपनि आफ्नो रिसराग, मोह, इष्र्या अनि घमन्डको वलि चढाएर एउटा असल मानव बन्ने प्रण गर्न सकौ ।

लिङ्गे पीङको मच्चाई अनि पारिवारीक जमघटका समयमा दशैंको निलो स्वच्छ आकाश अनि माधुर्यता बिचमा बर्षभरिको थकानलाई बिट मार्दै दशैंमग्न हुनुभएको छ कि छैन ? नौरथाको मेला अनि दुर्गा भावानीका शक्तिपीठहरूमा भिडभाड, कसैलाई मिठाई किन्नको हतारो हुन सक्छ त कसैलाई मासु ? कसैलाई पलेंटी कसेर तास खेल्नको तिर्सना होला त कसैलाई साथीभाईसंग भेटघाटको तिर्सना, जे होस् यस वर्षको दशैंको अष्टमीको शुभ दिन अनि शुभ साईतको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्