क्रिस्टिना गुरुङ बन्ने भइन् ‘प्रेम गीत ३’ को मुख्य अभिनेत्री

क्रिस्टिना गुरुङ बन्ने भइन् ‘प्रेम गीत ३’ को मुख्य अभिनेत्री
काठमाण्डौ/ अन्ततः यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ मा ‘गीत’ को भूमिकाका लागि अभिनेत्रीको टुंगो लागेको छ ।चलचित्र ‘प्रेम गीत ३’ को मुख्य अभिनेत्रीको रुपमा क्रिस्टिना गुरुङ फाइनल भएकी छिन् । अमेरीकाबाट अडिसनका लागि केहि महिनाअघि नेपाल आएकी क्रिष्टिनाले २७ सय १४ जनालाई जितेर चलचित्रमा काम गर्ने अवसर पाएकी हुन् । अब, उनले यस फिल्ममा अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्नेछिन् ।
निर्माण टिमले २७ सय १४ जनाबाट टप २५ र त्यसपछि टप ५ छानेको थियो । निर्माण कम्पनी आशुसेन फिल्म्सले आइतबार क्रिस्टिनाको नाम फाइनल गरेको हो । निर्माता तथा निर्देशक सन्तोष सेनले भने, ‘हाम्रा लागि अधिकांश उत्कृष्ट हुनुहुन्थ्यो, गीत पात्रमा क्रिस्टिनालाई फाइनल गरेका छौं ।’ क्रिस्टिना ‘गीत’ पात्रमा अनुबन्ध भए पनि बाँकी २४ जना अयोग्य नभएको निर्माता सेन बताउँछन् । उनी भन्छन्, ‘यो कुनै प्रतिस्पर्धा थिएन र यहाँ सहभागिता जनाएका २५ जना सबै समान प्रतिभाशाली थिए । हामीले मात्र फिल्मको कथाअनुसार सुहाउँदो ‘गीत’ को खोजी गरेका हौं । यो कुरा सबैले बुझ्न जरुरी छ ।’ उनले आशुसेन फिल्मस्को आगामी फिल्ममा कथाअनुसार सुहाउँदो पात्र भेटे ‘प्रेमगीत ३’ मा छनोट नभएका २४ जनामा कोही रहन सक्ने पनि बताए ।
निर्माण टिमले ‘प्रेमगीत ३’ मा ‘गीत’ क्यारेक्टरका लागि अडिसन आह्वान गरेको थियो, जसमा २७ सय बढीले आवेदन दिएका थिए । त्यसमध्ये २५ जना युवती उत्कृष्ट २५ को ‘सर्टलिस्ट’ मा परेका थिए । उनीहरुमध्ये अभिनय क्षमता, लुक्स, उचाई र सुन्दरताको हिसाबले ‘गीत’ क्यारेक्टरमा क्रिस्टिना परफेक्ट भएकाले छनोट गरिएको निर्माता सन्तोष सेनले बताए । दर्शकले पनि प्रदीपसँग क्रिस्टिनाको जोडी सुहाउने प्रतिक्रिया दिँदै आएका थिए ।

को हुन् क्रिस्टिना ?

क्रिस्टिना गुरुङ काठमाण्डौमा जन्मिएर लामो समयदेखि अमेरिका बस्दै आएकी थिइन् । उनि ‘प्रेम गीत ३’ को अडिसनका लागि अमेरिकाबाट नेपाल आएकी हुन् । लजालु स्वभावकी क्रिस्टिना निकै सुन्दर छिन् । नेपालमा उनले प्लस टु सम्मको अध्ययन सकेर उनि अमेरिका गएकी थिइन् । अहिले बाल्टिमोर युनिभर्सिटीमा आइटी बिषयमा स्नातक गर्दै छिन्, उनले । परिवारसहित अमेरिकामा बस्दै आएकी उनले केहि म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।

लामो समयदेखि ‘गीत’ क्यारेक्टरलाई लिएर दर्शकमा निकै कौतुहलता थियो ।शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, अनुभव रेग्मी र अब क्रिष्टिना गुरुङ यो चलचित्रका लागी फाइनल भएका छन् । चलचित्रको मुख्य भुमिकाका लागि प्रदीप खड्का अहिलेसम्म अनुमान गरिएपनि आधिकारिक रुपमा निर्माण टिमले जानकारी गराएको छैन, त्यसबाहेक दुईजना मुख्य भुमिकाका लागि बालकलाकार छान्न बाँकी छ । निर्देशक छेतेन गुरुङले भने, ‘हामीले मुख्य अभिनेतासहित दुईजना बालकलाकार पनि छानिसकेका छौं, अब केहि समयपछि घोषणा गर्नेछौं ।’

यहि चैत २८ गते नेपालभर प्रदर्शन हुने चलचित्र छायाँकनमा जानुअघिदेखिनै चर्चामा छ । छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्न लागेको यो चलचित्रलाई सन्तोष सेनले निर्माण गर्नेछन् । निर्माण टिमले चलचित्रमा छान्न बाँकी २० प्रतीशत कलाकार इन्ट्रि गराएपछि घोषणा गर्ने र छायाँकनमा जाने जनाएको छ ।

मनाङ र मुस्ताङ लगायतका स्थानमा खिच्न लागिएको चलचित्रमा झण्डैं ४ करोड लगानी लाग्ने अनुमान गरिएको छ ।

चैत २८ मा रिलिज हुने ‘प्रेमगीत ३’ लाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् । छेतेन र मन्दिप गौतमले फिल्मको कथा तयार पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्