नेपाल–भारत सीमामा अब सीसीटीभी जोडिँदै

नेपाल–भारत सीमामा अब सीसीटीभी जोडिँदै

काठमाडौं / नेपाल र भारतबीच खुला सीमा भएका भएका कारण बेला–बेलामा सीमा नाका आसपास बसोबास गर्ने नागरिकबीच तनाव हुने गर्छ । खुला सीमानाले गर्दा अपराधका घटना बढ्ने गरेका छन् ।

पछिल्लो उदाहरण हो – भारत लैजान लागिएको ७ करोडभन्दा बढी नक्कली भारु नोटसहित ३ जना पाकिस्तानी पक्राउ पर्नु ।

खुला सीमाकै कारण अवैध सुन नेपाल भित्रिने र नेपालबाट बाहिर जाने शृंखला नै चलेको छ । प्रहरीले एकाध अवैध सुन बरामद गरेपनि अझै पनि ठूलो संख्यामा खुला सीमा हुँदै सुनको ओसारपसार हुने गरेको प्रहरी स्रोत बताउँछ ।

ठूल्ठूला मालबाहक ट्रकहरूको लागि विभिन्न नाका व्यवस्था गरिएपनि व्यक्तिको हकमा भने त्यस्तो व्यवस्था नहुँदा अपराधीहरू नेपालमा सजिलै छिर्ने गरेको प्रहरीले बताउँदै आएको छ । सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीलाई दुःख दिएको तथा दिनानुदिन नेपालका सीमा मिचिएका खबर आइरहेको छ ।

दक्षिणी सीमा नाकामा नेपालको उपस्थिति कस्तो छ त ? यसबारे लोकान्तरले सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरजकुमार श्रेष्ठसँग गरेको कुराकानीको शारांश उनकै शब्दमा :-

नेपाल भारत सीमा नाकाहरू खुल्ला छन् । दिनमा कति नेपालमा कति भारतीय नाकाहरूबाट मानिसहरू आउँछन्, जान्छन् भन्ने कुनै यकिन तथ्याङ्कहरू छैनन् । तथ्याङ्कहरू राख्ने पनि गरिएको छैन । राज्यको नीति पनि छैन । यसले गर्दा नै हो – तथ्याङ्कहरू नभएको ।

ठूल्ठूला मालबाहक ट्रकहरूको लागि विभिन्न नाकाहरू व्यवस्था गरिएको छ तर व्यक्तिको हकमा भने त्यस्तो व्यवस्था नहुँदा नेपालमा अपराधीहरू सजिले छिर्ने गरेको देखिन्छ र यसलाई व्यवस्थापन गर्न ठूलो चुनौतीहरू छन् । त्यसमा पनि स्रोत र साधनहरूको त्यत्तिकै अभाव पनि छ ।

मानिसहरू आउने र जानेको पनि तथ्याङ्कहरू राख्ने हो भने पनि आपराधिक क्रियाकलाप गर्नेहरू निरुत्साहित हुने थिए । भारतीय सीमाना क्षेत्रमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बलको यसभन्दा अगाडि ८७ वटा ‘बोर्डर आउट पोस्ट’ (बीओपी) थिए, अहिले १ सय ८ वटा छन् ।

यसभन्दा अगाडि ‘बोर्डर आउट पोस्ट’को लागि दरबन्दी नै छुट्टै थियो । यो अरूमा आश्रित थियो । अर्थ मन्त्रालय, गृह मन्त्रालयपछि मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै राख्न पाइने अवस्थाले गर्दा बढाउन सकेका थिएनौं । अहिले भने त्यस्तो अवस्था छैन । जिल्लाकै गणबाट परिचालन हुने गर्छ । ‘बोर्डर आउट पोस्ट’हरू थपघट गर्न अहिले जिल्ला सुरक्षा समितिको निर्णयले गर्न सक्छ ।

स्थानीय तहमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान तीनै निकायको सहकार्यमा सुरक्षा समितिको निर्णयले आवश्यक परेको खण्डमा ‘बोर्डर आउट पोस्ट’ राख्ने पाउने व्यवस्था छ । यसले गर्दा पनि अहिले सहज भएको छ तर भौतिक पूर्वाधारहरूको पनि अभाव छ ।

तराईको २० जिल्लामा सशस्त्र प्रहरी बलको गण छ भने पूर्वी नवलपरासीमा गुल्म छ । यसरी २१ वटा गणले अहिले सीमा सुरक्षा दिइरहेको छ । एउटा गणमा ६ सय २१ जनशक्ति हुन्छ, यसरी हेर्दा १३ हजार जनशक्तिहरूले सीमा सुरक्षा दिइरहेका छन् । ‘बोर्डर आउट पोस्ट’हरू अर्काे वर्ष पनि बढाउने योजना छ ।

उत्तरमा पनि यसरी नै बढाउने छौं तर दक्षिणमा अलि बढी संवैदनशील भएकाले दक्षिणमा ‘बोर्डर आउट पोस्ट’हरू बढाउँदै लैजाँदैछौं ।

सीमा क्षेत्रमा कुनै सिपाही बिरामी भएको खण्डमा उपचारको पहुँचमा पुर्‍याउन पनि अहिले समस्या छ । अझ उत्तरतर्फ त झनै समस्या छ । यसको लागि पनि हामी योजना बनाइरहेका छौं ।

बोर्डर क्षेत्रमा अहिले अपराधका घटानाहरू कमी भएका छन । यसभन्दा अगाडि सीमा स्तम्भहरू हराएका, सारिएकाजस्ता घटना सार्वजनिक भइरहन्थे अहिले ‘बोर्डर आउट पोस्ट’हरू बढेपछि यस्ता घटनाहरू भएका छैनन् ।

यसभन्दा अगाडि पनि खटपट भइरहने भन्ने पनि सुनिएको छ । यस्ता घटनाहरू नियतबश भएका भने होइनन् । नेपाल–भारतको सीमाहरूमा हिँड्दै जाँदा नेपाल र भारतको जमिन छुट्याउनै गाह्रो अवस्था छ, यसले गर्दा अलिकति समस्या आएको मात्र हो ।

हतियारसहित आएको खण्डमा हामीले समाएर एसएसबीको गणलाई बुझाउने गरेका छौं । सीमा सुरक्षाको विषयमा महानिरीक्षक तहको हरेक २ वर्षमा बैठकहरू हुन्छ । यस्तै डीआईजी तहको ३/३ महिनामा हुने गर्छ । स्थानीय लेवलमा अथवा जिल्लाका कमाण्डरहरूले आवश्यकताअनुसार करीब हप्तामा १ पटक दुई पक्षीय बैठकहरू बस्ने गर्छ ।

यसरी सीमा सुरक्षामा हामीले विभिन्न समयमा संमन्वय गरिरहेका छौं । हामीहरूभन्दा एसएसबीको सीमामा तैनाथी धेरै नै छ । उनीहरूको ‘बोर्डर आउट पोस्ट’ ५ सय १६ वटा छन् भने नेपालको १ सय ८ वटा मात्र छन् । एसएसबीको लगभग ३–५ किलोमिटरमा एउटा ‘बोर्डर आउट पोस्ट’ छ भने नेपालको १८ किलोमिटरमा बीओपी छन् ।

यसरी हेर्दा हाम्रो १ वटा बीओपीले ७ वटा एसएसबीको बीआपीसँग समन्वय गर्नुपर्ने हुन्छ । यसबाट पनि थाहा हुन्छ कि एसएसबी र हाम्रो सीमा सुरक्षामा कति तैनाथी छ भन्ने ।

बोर्डर सुरक्षाको लागि अझ मजबुत बनाउनको लागि १० ‘बोर्डर आउट पोस्ट’मा मुभेवल ‘सिटीजेड’ (एडभान्स लेवल) को सीसीटीभी क्यामेराहरू जडान गर्दै छौं । यो सीसीटीभी क्यामेराको निगरानी काठमाडौंको हेडक्वाटरबाट हेर्ने व्यवस्था गर्दैछौं ।

यो नमूनाको रूपमा अहिले गृह सुधार योजनामा गृहमन्त्रीकै योजनामा यो लागू गर्न लागिएको हो । आगामी दिनमा यसलाई अझै बढाउँदै सीमा सुरक्षालाई प्रविधियुक्त बनाउने योजनामा छौं । सीसीटीभी जडानको अन्तिम तयारीमा छौं, केही समयमा नै यसलाई जडान गर्दैछौं । यसले गर्दा सीमापारबाट नेपालमा छिरेर आपराधिक गतिविधिमा कमी आउने विश्वास गरेका छौं । लोकान्तर अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्