निकै ठूलो चुनौतीको सामना गरिरहेका छौंः नगर प्रमुख बिष्ट

निकै ठूलो चुनौतीको सामना गरिरहेका छौंः नगर प्रमुख बिष्ट

खिरातडी बझाङ्ग । बुङ्गल नगरपालिकाले कोरानाको सामना गर्न विभिन्न उपायहरू अवलम्बन गरिरहेको छ । सम्भावित जोखिमहरूलाई अवसरको रूपमा लिएर काम गरिरहेको नगर प्रमुख धन बहादुर बिष्टले बताउनुभयो । नगरपालिकामा ८८ जना व्यक्तिमा कोरोना संक्रमण देखिएकोमा ७२ जना ठीक भएर घर फर्किसकेका छन् भने बाँकी १५ जना व्यक्तिको अवस्था सामान्य रहेको बिष्टले बताउनुभयो । त्यसैगरी नगरपालिकामा कोरोनाको कारणले १ जना व्यक्तिको मृत्यु समेत भएको छ । मृतक दीर्घ रोगी समेत रहेको र उहाँको मृत्यपश्चात कोरोनाको पुष्टि भएको बिष्टले जानकारी गराउनुभयो । नगरपालिकामा हालसम्म १००० जनाभन्दा बढीको संख्यामा पि.सि.आर परीक्षण भइसकेको नगर प्रमुखले जानकारी गराउनुभयो ।

त्यसैगरी नगरले ४ वटा क्वारेन्टाइनको व्यवस्था गरेको छ र सोही क्वारेन्टाइमा कोरोना पोजेटिभ देखिएका १५ जना व्यक्तिहरु रहेको नगर प्रमुख बिष्टले बताउनुभयो । उहाँले भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिहरुबाट नै संक्रमण फैलिएको पनि बताउनुभयो । त्यसैगरी कोरोना भाइरससँग लड्न नगरपालिकामा चाहिने स्वास्थ्यकर्मी तथा प्रविधि हालसम्म नगरबाट नै व्यवस्था भइरहेको छ ।

‘यस कोभिड १९ ले गर्दा निकै गाह्रो महशुस भइराखेको छ ’, उहाँले भन्नुभयो ‘यस नगरपालिका भौगोलिक रुपमा एकदमै विकट भएकाले यहाँ बाट घाटोको राम्रो व्यवस्था छैन । कोही बिरामी हुँदा पनि एम्बुलेन्स समेत आउन घण्टौँ लाग्ने तथा स्रोत साधनको कमीले बीरामीले समयमा उपचार नपाउने लगायतका समस्याहरु भएकाले नागरिकहरुको धेरै गुनासाहरु आउने गरेका छन् । ’ नगरले छुटुयाएको बजेट सबै महामारीको व्यवस्थापना गर्नमा नै खर्च भएको बिष्टले बताउनुभयो । प्रदेश र केन्द्र सरकारबाट सहयोग नआएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

नगरपालिकाले जनताको घर आँगनमै पुगेर सचेतना फैलाइरहेको छ । विभिन्न रेडियो कार्यक्रम तथा चेतनामूलक कार्यक्रम गरेर स्थानीयहरूलाई यस रोगबाट कसरी सुरक्षित रहने र सावधानी कसरी अपनाउने लगायतका विषयमा सचेत समेत गराइरहेको छ ।महमारीले ठूलो समस्या निम्त्याएकोले विकास निर्माणको काम अघि बढ्न नसकेको नगर प्रमुख बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘योजनाका लागि छुट्याइएका सम्पूर्ण बजेट यस कोरोना व्यवस्थापनमै खर्च भयो सोही कारणले गर्दा कुनै पनि योजना अघि बढ्न सकेनन् ।’ मिडियाले जनतासामु सत्य तथ्य समाचार फैलाउन एकदम महत्वपूर्ण भूमिका खेलेको भन्दै नगर प्रमुख बिष्टले सम्पूर्ण नेपालीप्रति सजग र सर्तक रहन एवं सरकारले बनाएको नियम पालन गर्न विनम्र अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्