नाडा अटो शोमा एउटा बाइककाे मूल्य ७३ लाख ९० हजार !

नाडा अटो शोमा एउटा बाइककाे मूल्य ७३ लाख ९० हजार !

काठमाडाैं ।  मंगलबारदेखि राजधानीमा जारी ‘नाडा अटो सो–२०१९’ मा महँगा मोटरसाइकलप्रति आकर्षण देखिएको छ। सवारी साधनका लागि कुम्भ मेलाका रूपमा मानिँदै आएको अटो शोमा विभिन्न ब्राण्डका मोटरसाइकल प्रदर्शनीमा राखिएका छन्। तीमध्ये बाइक पारखीहरुको विशेष आकर्षण एमभी अगस्टाको स्टलमा देखिएको छ ।

आकर्षणको केन्द्रमा छ हालै लन्च भएको एमभी अगस्टाको नयाँ बाइक ब्रुटाले ८०० आरआर एलएच ४४। यस बाइकको मूल्य ७३ लाख ९० हजार रुपैयाँ तोकिएको एमभी अगस्टा ब्राण्डको नेपालको लागि आधिकारिक बिक्रेता भेलोसिटि प्रालिले जनाएको छ। थोरै संख्यामा मात्र उत्पादन गरिएको यो बाइक विश्वभर १ सय ४४ वटा मात्र उपलब्ध छ। यो दक्षिण एसियाकै पहिलो र एक मात्र बाइक नेपालमा उपलब्ध भएको हो ।

भेलोसिटी प्रालिका अनुसार फर्मुला वान च्याम्पियन लुइस ह्यामिल्टनको सहकार्यमा उत्पादन गरिएको सो बाइकमा ह्यामिल्टनको नम्बर ‘४४’ समेत प्रयोग गरिएको छ, जुन नम्बर ह्यामिल्टनले फर्मुला वान ट्रयाकमा प्रयोग गर्छन् । इटालियन कम्पनी एमभी अगस्टाको यो बाइकमा ७९८ सीसी इन्जिन क्षमता उपलब्ध छ । तीन सिलिण्डर, चार स्टोक र १२ भल्भ इन्जिमा उपलब्ध यो बाइकको इन्जिनले १४० एचपी पावर र ८७ एनएम टर्क जेनेरेट गर्छ । यसको अधिकतम गति २४४ किलोमिटर प्रतिघण्टासम्म रहेको छ।

लुइस ह्यामिल्टन आफैले कस्टम डिजाइन गरेको यो बाइकमा कार्वन फाइबर कम्पोनेन्ट र मेसिन्ड बिलेट कन्ट्रोलको प्रयोग गरिएको छ । यसमा लिक्विड र आयल रेडिएटर कुलिङ प्रयोग गरिएको छ ।

यो मोडलसँगै भेलोसिटि प्रालिले एमभी अगस्टा ब्राण्डको अन्य महँगा बाइकहरु पनि प्रदर्शनीमा राखेको छ। त्यस्मा एमभी अगस्टा ब्राण्ड कै एफ-४ मोडल पनि रहेको छ। यस स्पोर्ट बाइकको ९९८ सीसी इन्जिन क्षमता छ भने मूल्य ६१ लाख ९० हजार रुपैयाँ तोकिएको छ। त्यस्तै अर्को मोडल हो टुरिस्मो भेलोसे। यस स्पोर्ट टौरर बाइकको ७९८ सीसी इन्जिन क्षमता छ भने मूल्य ५७ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

अर्को मोडल ब्रुटाले ८०० हाइपर नेकेड बाइक रहेको छ। ७९८ सीसी इन्जिन क्षमताको यो बाइकको मूल्य ४८ लाख ९० हजार रुपैयाँ तोकिएको छ। त्यसैगरी ब्रुटाले ८०० आर आर मोडलको बाइकको इन्जिन क्षमता ७९८ सीसी नै रहेको छ भने मूल्य ४६ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

 

प्रतिक्रिया दिनुहोस्