नगरभित्र कोरोना फैलिन नदिन सावधानी अपनाएका छौँः उपप्रमुख बम

नगरभित्र कोरोना फैलिन नदिन सावधानी अपनाएका छौँः उपप्रमुख बम

बैतडी । पुर्चौडी नगरपालिकाले कोरानाको सामना गर्न बिभिन्न उपायहरू अवलम्वन गरिरहेको छ । सम्भावित जोखिमहरूलाई अवसरको रूपमा लिएर काम गरिरहेको नगर उपप्रमुख जानकी ऐर बमले बताउनुभयो । उहाँले नगरपालिकामा १० जना व्यक्तिलाई करोना संक्रमण देखिएको थियो र ती मध्ये ९ जना ठीक भई घर फर्किसकेको बताउनुभयो । बाँकी १ जना व्यक्तिको होम आइसोलेसनमा रहेको जानकारी गराउनुभयो । भारतबाट आएका व्यक्तिबाट संक्रमण फैलिएको उहाँले बताउनुभयो । नगरपालिकामा कोरोना भित्रिन नदिन सिमा नाकाहरूमा हेल्प डेक्स संचालन, नाकामा कडाई, विभिन्न जनचेतनामूलक कामहरू गरिरहेको उहाँले बताउनुभयो ।

नगरपालिकामा हालसम्म ८०० भन्दा बढीको पि.सि.आर परीक्षण भईसकेको उपप्रमुखले जानकारी गराउनुभयो । सुरुका दिनहरुमा क्वारेन्टाइनको व्यवस्था गरेतापनि हाल भने क्वारेन्टाइन नरहेको तर ३० बेडको आइसोलेसन निर्माण गरेको उपप्रमुखले बताउनुभयो । कोरोना भाइरससँग लड्न नगरपालिकामा चाहिने स्वास्थ्यकर्मी तथा प्रविधि जिल्ला स्वास्थ्य कार्यालयले व्यवस्था गर्दै आइरहेको उहाँले जानकारी गराउनुभयो ।

महामारीसँग जुध्न सबैजना एकजुट भई लागिरहेको उपप्रमुखले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस महामारीमा यदी स्थानीय सरकार नभएको भए एकदमै भयावह स्थिति हुन्थ्यो । हामी जनप्रतिनिधि, नागरिक, कर्मचारी सबै मिलेर यसलाई व्यवस्थापन गर्दै आइरहेका छौँ ।’ यस अवस्थालाई नागरिकले बुझेकाले खासै गुनासो आएको छैन तर विपन्न वर्गका व्यक्तिहरुले काम गरेर खान पाएका छैनन् त्यसकारणले गर्दा समस्या बढ्दै गएको उपप्रमुखले बताउनुभयो ।

नगरपालिकाले जनताको घर आँगनमै पुगेर सचेतना फैलाइरहेको छ । विभिन्न रेडियो तथा टिभिबाट चेतनामूलक कार्यक्रम गरेर स्थानीयहरूलाई यस रोगबाट कसरी सुरक्षित रहने र सावधानी कसरी अपनाउने लगायतका विषयमा नगरपालिकाले सचेत गराइरहेको छ । सम्पूर्ण जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारी महामारी रोकथामका लागि दिन रात लागिपरेको उपप्रमुख बमले बताउनुभयो ।

महामारीले गर्दा सम्पुर्ण विकास निर्माणका कामहरु रोकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोना भाइरसको समाधान गरी नगरपालिकामा कोरोना फैलिन नदिनु हाम्रो मुख्य उद्देश्य रहेको छ । अहिले विकास निर्माण सम्पूर्ण कोरोना भाइरसको महामारीले गर्दा रोकेका छौँ । अब यो वर्षको सम्पूर्ण कामहरु दशै तिहार लगत्तै सुरु गर्ने योजना छ ।’मिडियाले जनतासामु सत्य तथ्य समाचार फैलाउन एकदम महत्वपूर्ण भूमिका खेलेको भन्दै उपप्रमुख बमले कोरोनाबाट ज्यान गुमाएका सम्पूर्णलाई श्रद्धाञ्जली व्यक्त गर्नुभयो । साथसाथै संक्रमणमा रहेका व्यक्तिलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई नियमको पालन गरी आफू पनि बचौ र अरुलाई पनि बचाऔँ भन्दै आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्