धमाधम सडक कालोपत्रे गर्दै, काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका

धमाधम सडक कालोपत्रे गर्दै, काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका

काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिकाले धमाधक सडक कालोपत्रे गर्ने काम सुरु गरेको छ । सडक कालोपत्रे सँगै गाउँपालिकाले नयाँ सडकको ट्रयाक खोल्ने र पुराना सडकको स्तरोन्नतीको काम पनि सुरु गरेको गाउँपालिका अध्यक्ष दिनानाथ गौतमले जानकारी दिनुभयो ।

यस्तै गाउँपालिले वडा नं ९ मा कृषि सडक निर्माण भएको छ । रातोचौंर–च्यानडाँडा–केउरेनी कृषि सडकको निर्माण गरेको छ । गाउँपालिकाको करिब ८ लाख बजेटमा निर्माण भएको उक्त सडकले स्थानीयवासीलाई निकै सहज बनाएको छ । उक्त सडकले वडाबाट गाउँपालिका केन्द्र र मध्यपहाडी लोकमार्ग समेत जोडेको छ । यसले आवागमनमा सहज बनाएको भन्दै स्थानीयवासीमा खुशीयाली छाएको छ । गाउँपालिका अध्यक्ष गौतमले निर्वाचनमा आफूहरुले स्थानीय जनतासँग गरेको प्रतिबद्धता अनुरुपको काम पूरा हुँदै गएको बताउनुभयो । हामीले निर्वाचनमा यहाँको खानेपानी, बिजुली र सडकको समस्या समाधान गर्ने प्रतिबद्धता गरेका थियौं, ती समस्या समाधान गरेका छौ, अध्यक्ष गौतममले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाइले आफूहरु निर्वाचित भएर आउँदा देखेका समस्या क्रमशः पूरा गर्दै आएको बताउनुभयो । गाउँपालिकाले १ घर १ धाराको अभियान समेत संचालन गरेको छ ।
गाउँपालिकाले सिंचाई, खानेपानि लगायतको पुर्वाधारमा उल्लेखनिय काम गरेको छ ।

अध्यक्ष गौतमले भौतिक पूर्वाधारका हिसाबले सडक सञ्जाल प्रत्येक टोल–टोलमा पुगेको बताउनुभयो । उहाँले सकेसम्म प्रत्येक घर(घरमा समेत बाटो पुर्‍याउने आफ्नो लक्ष रहेको प्रष्ट पार्नुभयो । “यो अवधिमा हामीले भौतिक पूर्वाधार क्षेत्रमा धेरै कामहरु गरेका छौं । मुख्यतः सडक सञ्जाललाई हामीले प्रत्येक टोल–टोलमा पुर्‍याउनेकाम गरेका छौं ।” अध्यक्ष गौतमले भन्नुभयो, “अब हामी सम्भव भएसम्म प्रत्येक घर–घरमा सडक पुर्‍याउने कोशिसमा छौं । त्यतिमात्र होइन, स्वास्थ्य भवन, विद्यालय भवन, वडा कार्यालय भवनहरु समेत निर्माण गरेका छौं ।” उहाँले गाउँपालिकामा बन्दै गरेको १५ शैयाको अस्पताल भवन निर्माण सम्पन्न भई अब हस्तान्तरणको चरणमा रहेको बताउँदै निर्वाचनको क्रममा जनता समक्ष घोषणा पत्र जारी गरेर गरेको प्रतिबद्धताहरु सबै पूरा भएको समेत दावी गर्नुभयो ।“१५ शैयाको अस्पताल भवन अब हस्तान्तरणको प्रक्रियामा छ । हामीले घोषणापत्रमा जे लेखेका थियौं त्यो सबै पूरा भएको छ । एउटा कुरा मात्र पूरा गराउन सकेका छैनौं । त्यो हो स्मार्ट सिटि । हामीले यो योजना कार्यन्वयन गर्न यही अवस्थामा नसकिने रहेछ ।” उहाँले भन्नुभयो ।
उहाँले यही वर्ष किसानहरुको लागि बीउ उत्पादन गर्न पनि शुरु गरेको बताउनुभयो । “हामीले किसानको लागि बीउ उत्पादनमा जोड दिएका छौ । गहुँको बीउ उत्पादन तिर गइसकेको छ । मकै र धान अब शुरु गर्छौं । किसानको माग धेरै भएकोले बीउ अनुदानमा वितरण गर्नेछौं ।” अध्यक्ष गौतमले भन्नुभयो । उहाँले चौंरीदेउराली गाउँपालिका मासुमा आत्मनिर्भर रहेको पनि उल्लेख गर्नुभयो । “हाम्रो गाउँपालिका मासुमा आत्मनिर्भर छ । हामीले पशुपालक किसानहरुलाई प्रोत्साहन गर्दै आएका छौं ।’ उहाँले भन्नुभयो, “४ सय भैसिलाई सुत्केरी भत्ता दिएको छ । कुखुरा, वाख्रा, भैंसी पालनमा किसानहरु आकर्षित भएको देखिन्छ ।” अध्यक्ष गौतमले भन्नुभयो । शिक्षाको क्षेत्रमा पनि गाउँपालिकाको पहलमा बिद्यालय भवनहरुको निर्माण गरिएको छ । यस्तै गाउँपालिकाले शैक्षिक सामाग्रीहरु वितरण, बिद्यार्थीहरुलाई छात्रबृत्ति दिने लगायतको काम पनि गरिरहेको छ ।

विश्वभर फैलिएको कोरोना महामारीको असर चौंरीदेउराली गाउँलिकामा पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न गाउँपापालिका सफल भएको छ । कोरोना माहामारीमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो । यसले पनि विहादी गाउँपालिकाको प्रभावकारी योजना र चुस्तदुरुस्त व्यवस्थापनलाई झल्काउदछ । आगामी दिनमा नगरवासीहरुको हित र अपेक्षालाई मध्यनजर गर्दै गाउँपालिकाको सम्पुर्ण विकास निर्माणका कामहरु अगाडि बढाउने गाउँपालिका अध्यक्ष गौतमको योजना छ ।

प्रतिक्रिया दिनुहोस्