धनकुटा नगरपालिकाको उदाहरणीय काम: फोहोरको डङ्गुरमाथिको सुन्दर फुलबारी

धनकुटा नगरपालिकाको उदाहरणीय काम: फोहोरको डङ्गुरमाथिको सुन्दर फुलबारी

काठमाडौं ।फोहोर भन्ना साथ धेरैले नाक थुन्छन् । हुन पनि हो फोहोर कसलाई मन पर्छ र । बस्ती बिकाससँगै नगरको मुख्य चुनौती पनि फोहोर नै बनि रहेको हुन्छ । फोहोर यत्रतत्र सर्वत्र हुदाँ नाक त थुन्नु पर्छ नै, व्यवस्थापनको टाउको दुखाइ पनि उतिकै बनेको हुन्छ ।

ल्याण्डफिल साइट अर्थात् फोहोर फ्याँक्ने ठाउँमा जो कोही जान मन गर्दैनन् । फोहोरको निस्सासिने दुर्गन्ध, झिँगा आदि सम्झिदाँ कसलाई पो जान मन लाग्ला र ? मास्कबिना छिर्न नसक्ने अवस्था हुन्छ त्यहाँ । वरपरका स्थानीयले चर्को विरोध गर्छन् । नेपालका औसत ल्याण्डफिल साइटको अवस्था यही हो ।

तर यस्तो पनि ल्याण्डफिल साइट छ, जहाँ तपाई एक पटक पुगेपछि बारम्बार जान चाहनु हुन्छ । त्यतीमात्र कहाँ हो र तपाईलाई सेल्फी खिच्न मन लाग्ने छ । फोहोरको डङ्गुरमाथिको फुलबारी, जहाँ गन्ध होइन सुगन्ध फैलिएको हुन्छ । पत्यार लागेन ?

हो धनकुटा नगरपालिकाको ल्याण्डफिल साइट फोहोरको पार्क हो भन्दा फरक पर्दैन । जो पनि यो ल्याण्डफिलमा जान चाहान्छन् । अझ रमाइलो कुरा त के छ भने यो ल्याण्डफिल साइटमा जान पैसा समेत तिर्नु पर्छ ।

३ हजार तिरेर मात्रै जान सकिन्छ । यसबारेमा धनकुटा नगर कार्यपालिकाले निर्णय नै गर्यो–संस्थागत प्रवेश शुल्क ३ हजार । व्यक्तिगत प्रवेश शुल्क भने लिँदैन । संस्थागत शुल्क ३ हजार तोकेपछि अध्यायनका लागी त्यहाँ पुग्ने विभिन्न स्थानीय निकाय तथा संघ संस्थाबाट लाखौं रुपयाँ कमाइ गरिसकेको छ ।

हालसम्म २ सय भन्दाबढी स्थानीय तहले धनकुटा ल्याण्डफिल साइटको अवलोकन भ्रमण गरेको धनकुटा नगरपालिका, वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी मेयर खबरलाई जानकारी दिनुभयो ।

शहरबाट नजिक छ ल्याण्डफिल साइट

धनकुटाको ल्याण्डफिल साइट बस्तीबाट डेढ सयदेखि ३ सय मिटर टाढा मात्र छ । बस्तीसँगै ल्याण्डफिल साइट हुँदा स्थानीयको विरोध छैन, झन खुसी छन् । यो यति व्यवस्थित छ कि बस्ती नजिक भएरपनि कसैको विरोध र अवरोध छैन् ।
खनालका अनुसार घरबाट निस्कने फोहोर ९० प्रतिशत नगरबासीले घरमै छुट्याउने गरेका छन् । कुहिने, नकुहिने, पुनःप्रयोग गर्न मिल्ने गरि फोहोरलाई वर्गिकरण गरिएको छ । खनाल भन्नु हुन्छ, ‘कोठा भाडामा बस्नेहरुबाट केही समस्या पर्ने गरेको छ । त्यसको पनि चाडै निदान खोज्दै छौँ ।’

उचीत व्यवस्थापनकै कारण धनकुटाको फोहोरको थुप्रोमाथि बनेको सुन्दर पार्क अहिले नगरको आम्दानीको स्रोत बनेको छ । यहाँ ४० बढी जातका फूलहरू छन् । अहिले दर्जनौँ पर्यटक घुमफिरका लागि आउने गरेका छन् । यसलाई नगरले गौरवको परियोजनासँग जोडी यसको अझै विकास र विस्तार गर्ने लक्ष्य लिएको नगरपालिकाकी उपमेयर शकुन्तला बस्नेत बताउनु भयो ।

फोहोरबाट मोहोर
धनकुटाको ल्याण्डफिलमा ३० रोपनी क्षेत्रफलमा ०६६ सालदेखि फोहोर व्यवस्थापनको शुरु गरिएको हो । धनकुटा–६ सल्लेरीमा रहेको यो ल्याण्डफिल साइट अहिले धनकुटाको शान बनेको छ ।

०७३ सालमा यसको व्यवस्थापकीय सफलताले धनकुटा सबैभन्दा सफा नगरमा नेपालकै दोस्रो नगर भयो । त्यसैगरी २०७४ सालमा नेपालमै प्रथम भयो र १० लाख पुरस्कार समेत पाएको थियो ।

यहाँ गाडी आएपछि मात्रै फोहोर निकाल्ने नियम भएर हो । धनकुटाको ल्याण्डफिल साइटमा नकुहिने फोहोर मात्रै पुग्छ । नकुहिने फोहोरमा प्लास्टिक, फलाम, सिसा र अन्य ठोस वस्तु पर्छन् । त्यी सामग्रीहरू पुनः प्रयोग गर्न सकिन्छ । धनकुटामा दैनिक ३५ घनमिटर फोहोर उत्पादन हुन्छ । आधा कुहिने फोहोर घरमै व्यवस्थापन हुन्छ । बाँकी नकुहिने मात्रै उठाएर ल्याण्डफिल साइटमा लगिन्छ ।

पुनः प्रयोग गर्न सकिने सामग्रीबाट ल्याण्डफिल साइटले वार्षिक ४० हजार कमाउँछ । यहाँबाट पुनः प्रयोग हुने सामग्री टिपेर स्थानियले बार्षिक ३५ देखी ४० लाख कमाउँछन् । यहाँ १० जना स्थानियले रोजगारी पाएका छन् ।

नकुहिने फोहोर पुनः बेचेर व्यवस्थापन गरेपछि धनकुटाको ल्याण्डफिल साइटमा भार पनि कम परेको छ । कुहिने फोहोरको व्यवस्थापन पनि धनकुटाले दुई तरिका अपनाएको छ । गाईबस्तुले खाने फोहोर खोलेको रूपमा प्रयोग गरेर व्यवस्थापन हुन्छ । अरू फोहोहरु भने कौसीखेती गर्न र करेसाबारीमा हाल्न प्रयोग हुन्छ । जसले गर्दा ल्याण्डफिलमा दुर्गन्ध पुग्दैन।

उप मेयर बस्नेत नगरपालिका यो स्थानसम्म आइपुुग्नुुमा आफुहरु भन्दा पनि पहिले नगरको अग्रसरता र सर्वसाधारणको सहयोग नै रहेको बताउँनु हुन्छ ।

ल्याण्डफिलका पुनः प्रयोग हुन मिल्ने सामग्री उठाएपछि ल्याण्डफिलको आयु पनि बढ्ने र कमाइ पनि हुने राम्रो विकल्प भएको बस्नेत बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्