दोरम्बा गाउँपालिकाको नाम फेर्ने निर्णय

दोरम्बा गाउँपालिकाको नाम फेर्ने निर्णय

रामेछाप/ दोरम्बा गाउँपालिकारामेछापको नाम फेर्ने भएको छ । दोरम्बा गाउँपालिकाको गाउँ सभाले गाउँपालिकाको नाम परिवर्तन गर्दै ‘दोरम्बा सैलुङ’ राख्ने निर्णय गरेको हो ।

ऐतिहासिक स्थल दोरम्बाबाट गाउँपालिकाको नाम दोरम्बा नामाकरण गरिएको थियो । तर दोरम्बा गाउँपालिकाले पर्यटन क्षेत्रलाई पनि समावेश गर्ने मुख्य उदेश्य सहित गाउँपालिकाको स्थापना भएको तीन बर्षपछि नाम परिवर्तन गर्ने भएको छ ।

दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह तामाङले गाउँसभाबाट गाउँपालिकाको नाम दोरम्बा सैलुङ राखिएको  बताए । उनका अनुसार गाउँसभाबाट पारित भएको नाम संघीय मामिला मन्त्रालयमा पठाइनेछ ।

गाउँपालिकाले गरेको नाम सरकारले अनुमोदन गरेपछि मात्र वैधानिकता पाउने छ । यस अघि रामेछापको लिखु गाउँपालिकाले पनि नाम परिवर्तन गर्दै लिखु तामाकोसी गाउँपालिका राखेको थियो ।

यसैबिच दोरम्बा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६।०७७ को लागि ४६ करोडको बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्