जानकी मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गर्न सीमांकन गरिने

जानकी मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गर्न सीमांकन गरिने

काठमाडौँ  ।   जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा सूचीकृत गर्न सीमांकन गरिने भएको छ । आगामी ६ महिनाभित्र उक्त मन्दिर क्षेत्र सीमांकन गर्ने प्रक्रियाको थालनी हुने भएको हो ।

पुरातत्व विभागको पहलमा गंगासागर, धनुषसागर, राममन्दिर र जानकी मन्दिरसम्मको क्षेत्रलाई आधार मानी सीमांकन गरिने बताइएको छ । सो क्षेत्रमा भवनको मापदण्डबारे सरोकारवालासँग छलफल गरी सीमांकनको प्रक्रिया अगाडि बढाइने योजना रहेको विभागले जनाएको छ ।

सीमांकन प्रक्रिया पूरा भएपछि मन्दिर क्षेत्रलाई संरक्षित प्राचीन स्मारक क्षेत्र घोषणागरी सूचीकृत हुने अन्य मापदण्डको कार्यलाई गति प्रदान गरिने छ । युनेस्कोद्वारा सन् २००८ मा जानकी मन्दिरलाई विश्व सम्पदाको सम्भाव्य सूचीमा राखेको भए पनि सूचीकृतको मापदण्डप्रति स्थानीयस्तरमा अग्रसरताको अभाव हुँदा यसले गति लिन नसकेको हो ।

सूचीकृत गराउन हामी क्रियाशील छौँ ः मन्त्री साह
प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकी मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गराउने प्रक्रिया र पहलमा सरकार क्रियाशील रहेको बताएका छन् ।मन्दिरको सौन्दर्यकरण गर्नलाई प्रदेश सरकारले साढे आठ करोडको लागतमा मन्दिर प्राङ्गणमा मार्बल ओछ्याउने काम गरिरहेको मन्त्री साहले बताए ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले विश्वसम्पदा सूचीमा सूचीकृत गराउने सन्दर्भमा स्थानीय सरकारले कानुनी आधारको आवश्यक प्रक्रिया पूरा गराउन पहल गर्नु आवश्यक रहेको बताए ।

पुरातत्वविद् भीमप्रसाद नेपालले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रियाअन्तर्गत सीमांकनपछि व्यवस्थापकीय योजना निर्माण गरी अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्