जनताको अपेक्षाअनुसार काम गरिरहेका छौंः वडाध्यक्ष मगर

जनताको अपेक्षाअनुसार काम गरिरहेका छौंः वडाध्यक्ष मगर

छापगाउँ बुढाबुढी ढुङ्गा, रामेछाप । मन्थली नगरपालिकाको वडा नंं ११ ले कोरोना भाइरस नियन्त्रण गर्न विभिन्न कार्यक्रमहरू गरिरहेको छ । नेपालभरी संक्रमणको संख्या बढ्दै गएकाले वडामा पनि संक्रमण बढ्न सक्ने खतरा रहेको वडा अध्यक्ष भिम बहादुर थापा मगरले बताउनुभयो । उहाँले संक्रमणबाट बच्न वडाले विभिन्न सावधानीका उपायहरू अपनाउँदै गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म कोरोनाको प्रभाव यस वडाभित्र परेको छैन । विदेश एवं काठमाडौं जिल्लाबाट आउने व्यक्तिहरूलाई वडाकै क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौं । १४ दिन क्वारेन्टाइनमा राखेर पि.सि.आर परीक्षण गराई मात्र रिर्पोट अनुसार काम कारबाही अगाडि बढाउने गरेका छौं ।’

वडाले टोल टोलमा गएर यसबाट बच्नलाई अपनाउनुपर्ने उपायहरूको बारेमा सबैलाई जानकारी दिएको उहाँले बताउनुभयो । महामारीको अवस्थामा जनताको अपेच्छा अनुसार सम्पूर्ण कुराहरुको व्यवस्था मिलाएकाले त्यस्तो गाह्रो महशुस नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘निषेधाज्ञा भएको अवस्थामा आपतकालिन् सेवा र हाल वडाबाट हुने सम्पूर्ण सेवाहरु दिइरहेका छौं । वडाले गरेका कामप्रति नागरिक सबै सन्तुष्ट नै छन् । ’ यस आर्थिक वर्षमा वडाले कोरोना भाइरसलाई न्यूनिकरण गर्नलाई स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ भने विकास निर्माण, खानेपानी क्षेत्रलाई पनि प्राथमिकतामा राखेर योजनाहरु ल्याएको वडाध्यक्ष मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्