खस भाषाको तथ्याङ्क सङ्कलन भाषा आयोगको टोली जुम्लामा

खस भाषाको तथ्याङ्क सङ्कलन भाषा आयोगको टोली जुम्लामा

काठमाडौं । भाषा आयोगले प्रत्येक प्रदेशमा बोलिने खस भाषाको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । तथ्याङ्क सङ्कलन गर्न आयोगको टोली कर्णाली प्रदेशको राजधानीको जुम्लामा आइपुगेको छ ।

आयोगले भाषाविद् सँगको परामर्श लिएर देशभरका भाषाको स्थलगत अध्ययन तथा तथ्याङ्क सङ्कलन जारी राखेको हो । बढीमा पाँच वर्षका लागि कार्यअवधि तोकिएको आयोगले केन्द्र र प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाउन पूरा गर्नुपर्ने आधार निर्धारण गरी सरकारसमक्ष सिफारिस गर्ने र भाषाको संरक्षण, सम्वर्द्धन र विकासका लागि अवलम्बन गर्नुपर्ने उपायबारे सरकारसमक्ष सिफारिस गर्ने रहेको छ ।

 

मातृभाषाको विकासस्तर मापन गरी शिक्षामा प्रयोगको सम्भाव्यताबारे सुझाव पेस गर्न र भाषाहरूको अध्ययन, अनुसन्धान र अनुगमन गर्न आयोगले प्रारम्भिक चरणमा तथ्याङ्क सङ्कलन, विश्लेषण र मार्गचित्र निर्माण शुरु गरेको आयोगको प्रादेशिक भाषा समितिका अध्यक्ष प्रध्यापक डा जीवनदेव गिरीले बताउनुभयो । राज्यको सबै क्षेत्र र तहमा विचार संश्लेषण गर्ने भन्दै उहाँले हरेक भाषाको ऐतिहासिक कालक्रमको विश्लेषण भइरहेको बताउनुभयो । क्षेत्रगत रूपमा भाषिक समुदायको प्रतिनिधित्व हुने गरी छलफल तथा सुझाव बटुल्ने काम भइरहेको डा. गिरीको भनाइ थियो ।

निर्वाचित जनप्रतिनिधिले आफ्नो अधिकारका रूपमा स्थानीय तहको सरकारी कामकाजको भाषा प्रयोग गर्न सक्ने अवस्थाबारे कर्णालीको मुगु, कालीकोट र जुम्लाका जनप्रतिनिधिसँग छलफल गरी सुझाव सङ्कलन गरेकाले अल्पसङ्ख्यक, लोपोन्मुख, अलिखित, लेख्य र बहुसङ्ख्यक भाषा तथा त्यसको अवस्थाबारे चर्चा हुने गरेको आयोगका सदस्य गोविन्द नेपालीले जानकारी दिनुभयो ।

मातृ भाषाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोगले स्थानीयस्तरमा बोलिने भाषाको पहिचान गर्ने काम गरेको उहाँको भनाइ थियो । भाषा आयोगका सदस्य उषा हमालले सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाउन पूरा गर्नुपर्ने आधार निर्धारण गरी नेपाल सरकारसमक्ष भाषाको सिफारिस गर्ने र भाषाको संरक्षण, सम्वर्द्धन र विकासका लागि अवलम्बन गर्नुपर्ने उपायबारे नेपाल सरकारसमक्ष सिफारिस गर्ने उद्देश्यले काम भइरहेको जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले स्थानीयस्तरमा रहेका खस भाषालाई लिपिबद्ध गरिनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले नेपाली भाषा संरक्षण गर्दे सरकारी कामकाजमा ठाउँअनुसारको भाषा प्रयोगमा ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले खस भाषालाई मान्यता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्