खत्याड गाउँपालिकाका कोरोना संक्रमित सबै भारतबाट आएका

खत्याड गाउँपालिकाका कोरोना संक्रमित सबै भारतबाट आएका

मुगु । नेपालका तीनै तहका सरकार मध्ये कोरोना रोकथामको लागि स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण रहेको हुन्छ । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले मुगु जिल्ला अवस्थित खत्याड गाउँपालिका स्वास्थ्य शाखाकी प्रिति शर्मालाई गाउँपालिकामा कोरोनाको अवस्था कस्तो छ र रोकथामको लागि गाउँपालिकाले के कस्ता प्रयासहरू गरिरहेको छ भन्ने प्रश्न गरेको थियौँ । उहाँले गाउँपालिकामा ४ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको थियो ती मध्ये ३ जना ठीक भई घर फर्किसकेको र १ जना आइसोलेसनमा रहेको बताउनुभयो । संक्रमित व्यक्ति सबै भारत र अन्य मुलुकबाट आएका नागरिक रहेको उहाँले बताउनुभयो ।


हालसम्म गाउँपालिकामा ७८३ जनाको पि.सि.आर र ७०५ जनाको आर.डि.टी परीक्षण भइसकेको उहाँले बताउनुभयो । पि.सि.आर परीक्षण गरेका मध्येका ६४ जनाको रिर्पोट आउन बाँकी रहेको उहाँले बताउनुभयो । गाउँपालिकाले सुरुमा विद्यालयहरूमा क्वारेन्टाइनको व्यवस्थापन गरेको थियो भने हाल विद्यालयमा क्वारेन्टाइन हटाएर बाहिरबाट आउने व्यक्तिलाई होम क्वारेन्टाइनमै राख्ने गरेको उहाँले बताउनुभयो । त्यसैगरी कोरोना भाइरससँग लड्न गाउँपालिकामा चाहिने स्वास्थ्यकर्मी तथा प्रविधि गाउँपालिकाबाट नै व्यवस्था गर्दै आइरहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले टोल टोलमा माइकिङ गरेर नागरिकलाई सतर्कता गराउने, पोस्टर पम्पलेट टाँस्ने र स्वास्थ्यकर्मी परिचालन गरी सम्पूर्ण नागरिकलाई यस महामारीबाट बच्नलाई सचेत गराइरहेको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्