खडेरीले मकै सखाप (फोटो फिचर)

खडेरीले मकै सखाप (फोटो फिचर)

खोटाङ/ खडेरीले मकैको बोट सुकेपछि बेंशीक्षेत्रका किसानहरुले मकैको बोट (बिरुवा) उखेलेका छन् । मुख्य बाली मकैको बोट खडेरीले धमाधम सुकेपछि खोटाङका अधिकांश स्थानका किसानहरुले मकैको बोट बाध्यताले उखेलेका हुन् । असारको तेश्रो हप्तामा समेत पानी नपर्दा खडेरी आएपछि किसानले लगाएको मकैको बोट, रुखपात दिनदिनै सुकेर मासिदै गएको छ ।

खडेरीले सुकेको मकैको बोट उखेल्दै राजापानी बरबोटेका कृषक

खडेरीका कारण बारीमा लगाएको मकैका सानाठूला बोटहरु दिनैपिच्छे उखेलेर फाल्नु परेको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका कृषक भक्त बहादुर श्रेष्ठले बताए । ‘खडेरीले मकै सुकेर नष्ट भयो, खानेपानीको समेत अभाव हुन थालेको छ ।’ श्रेष्ठले भने । पानी नपर्दा खडेरीले मकैको बोट सुक्नुका साथै सयौ रोपनी खेतीयोग्य जमिन बाँझो बसेको छ । भीर पहराका रुखहरु समेत सुक्न थालेको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका कृषक निर बहादुर कार्कीले बताए । खडेरी पिडित श्रेष्ठ र कार्की त प्रतिनिधि किसान मात्रै हुन् । जिल्लाको तल्लो भेगमा खेतीबाली गर्ने सबै किसानले लगाएको मकैको बोट उम्रिएपछि नै खडेरीले सखाप बनाएको छ ।


खडेरीले राजापानीको बरबोटेमा सयौं हेक्टरमा किसानले लगाएको मकैका बोट, रुखपात, बाँसहरु मर्न थालेका छन् । जमेका आहालहरु सुकेका छन् । ‘बल्लतल्ल एक बित्ताको मकै उम्रिएको त्यही पनि सुकेर गएपछि उखेलेर वस्तुभाउलाई दिंदा वस्तुले नखाएकाले न मान्छेलाई न वस्तुभाउलाई नै रोपेको मकैले काम दियो ।’ राजापानी बरबोटेकी पवित्रा कार्कीले सुनाईन् । खडेरीकै कारण मकै त सकियो अन्य सवैखाले खाद्यन्नको विउ पनि मासिएकाले बाँच्नलाई गाह्रो परेको सोही ठाउँकी जोगमाया कार्कीले बताईन् ।

खडेरीले सुकेको मकैको विरुवा उखेलिसकेपछिको बारी देखाउदै कृषक 

असारमा पानी पर्ला र बालीनाली लगाउला भनेर ढुक्क बसेका कृषकहरु खडेरीले उठिवास लगाउने परिस्थिती सिर्जना गरेपछि चिन्तित बनेका छन् । असारे भाकामा मेलापातमा व्यस्त हुनुपर्ने सिजनमा खडेरीले गाउँघर सुख्खा हुंदै गएपछि किसानहरु अलमलमा परेका छन् । खडेरी अझै केही समय लम्बिएमा मानिस र पशु चौपायालाई समेत पानी पिउनमा संकट आउने सवाकटहरेकी अम्बरी राईले बताईन् । खडेरीका कारण कोदोको विउ राख्न, रोपाई गर्न नसकिएको राईको भनाई छ । ४० हजार हेक्टरमा मकै खेती हुने जिल्लामा आधा भूुभागका मकैका विरुवा सुकेर जाँदा भोकमरी चल्ने खतरा बढेको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्