क्रिकेट रंगशालामा कीन चल्यो डोजर ? स्थनिय भन्छन–हामीले नै डोजर चलाएका हौं (भिडियो सहीत)

क्रिकेट रंगशालामा कीन चल्यो डोजर ? स्थनिय भन्छन–हामीले नै डोजर चलाएका हौं (भिडियो सहीत)

चितवन । केही दिन देखी सामाजिक संजालमा हट केकको बिषय बनेको छ चितवनको डोजर काण्ड । अधिकांश सामाजीक संजाल प्रयोगकर्ताले धुर्मुुस सुन्तलीको पक्ष लीएर टनाका मुख्य ओरोपी भनिने प्रकाश कँडेललाई कडा कारबाहीको माग गरेका छन । भने अर्काे तर्फ सस्तो लोकप्रियताका नाममा धुर्मुस–सुन्तलीले स्थानीय जनतालाई खराब देखाउने कार्य गलत रहेको भन्दै सामाजिक सञ्जालमा झिनो स्वरमा उठ्न थालेको छ ।
पत्रकार दिन निशानी सामाजीक संजाल फेसबुकमा यस्तो लेख्छन–
अरबमा आँशु पसिना बगाएर किनेको चार आना जगाको धेरै माया हुन्छ । सुन्तली जि, तपाई महान हुनुहुन्छ । कुरा बुझ्दैनन् भने जनतालाई बुझाउने हो, तर देशद्रोही भन्ने हैन ।
म धुर्मुस सुन्तलीको कामको प्रशंसक हुँ । धेरै पटक प्रशंसा गरेर लेखेको पनि छु । तर प्रशंसक भए भन्दैमा जे कुराको नि प्रशंसा गर्ने भन्ने हुदैन । डोजर लगाउने काम निकै गलत काम हो । तर डोजर किन लाग्यो, किन छलफल हुन सकेन, किन निकाश निस्किएन भन्ने पाटोको पनि चर्चा हुनुपर्छ ।


दिल निशानीले भने जस्तै राष्टीय गौरबको आयोजना भन्दा फरक नपर्ने गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणस्थलको बारमा कीन डोजर लगाईयो त ? यो सबैको चासोको बिषय यही हो ।

यस प्रश्नको जवाफ पाउन रंगशाला निर्माणस्थल वरपरका स्थानियको जवाफ सुन्न जरुरी छ । के भन्छन त स्थानिय ? हेरौ भाग्य न्योपानेले तयार पारेको यो भीडियो ।

स्थानियको कुराबाट के कुरा प्रष्ट हुन्छ भने चितवन डोजरकाण्डको चुरो कुरो जग्गाको बिबाद हो । रंगशाला बन्न लागेको स्थानमा जाने सडक बनाउने विषयमा विवाद हुँदा स्थानीयले ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ले रंगशाला निर्माणस्थलमा लगाएको बार भत्काइदिएपछि यो विवाद बाहिर आएको हो ।

धुर्मुस सुन्तली फाउण्डेसनले देश–विदेशमा रहेका नेपालीहरुसँग चन्दा उठाएर भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ को सीमानामा रंगशाला बनाइरहेको सबैलाई थाहा भएकै कुरा हो । रंगशालाको डीपीआर बन्ने क्रममा रहेकाले काम सुरु भइसकेको छैन । तर, फाउण्डेसनले साइड कार्यालय स्थापना गरेर जग्गा संरक्षणको काम थालेको छ ।


फाउण्डेसनले तीन तिर बार लगाएपछि यसअघि नै पश्चिमतर्फ स्थानीयले अवरोध गरेका थिए । कारण थियो बाटो । रंगशालाको पश्चिमतर्फ अहिले कतै ६ मीटर त कतै ७ मिटरको बाटो छ । बाटोको मुखमा केही घरहरु छन् । तर, भित्र खासै ठूलो बस्ती छैन । स्थानीयका अनुसार रंगशाला निर्माणसँगै यो बाटो ३१ मिटरको हुने सक्ने बताइएको छ । तर, भोलि रंगशाला बनिसकेपछि बाटो विस्तार गर्दा वस्ती उठ्ने त्रास स्थनियको छ । त्यसैले उनीहरुले माग अघि सारे– विश्वविद्यालयको जग्गातर्फ नै बाटो बनाइयोस् ।

त्यसका लागि विश्वविद्यालय ज्ञापनपत्र बुझाउने, भरतपुर महानगरपालिका र वडा कार्यालयमा जाने र धुर्मुस सुन्तली फाउण्डेशनलाई दबाव दिने जस्ता काम स्थानीयले गरे । फाउण्डेशनले रंगशालाको जग्गा संरक्षण गर्न बार लगाउँदा नै बाटोका लागि जग्गा छोड्नुपर्ने स्थानीयले माग गरे ।

यती गर्दागर्दै पनि ‘धुर्मुस–सुन्तली’ फउण्डेशनले बाटोमा पर्ने ५०–६० घरलाई भत्काएर सडक बनाउने तयारी गरेपछि स्थानिय आक्रोशित बनेका हुन । सीताराम कट्टेल ‘धुर्मुस’ले स्थानीयसँग सडक विस्तारमा विवाद हुँदा समस्या समाधानमा गम्भीर ध्यान नदिएको स्थानीयको आरोप छ ।

‘धुर्मुस–सुन्तली फाउण्डेशन’लाई कार्यालय राख्न घर दिएकी स्थानीय चन्द्रकला रामदामले रंगशालासम्म पुग्ने सडक विस्तारको विषयमा विवाद भएको जानकारी दिइन् । ‘रंगशाला बनोस् भनेर हामी सबै गाउँले उत्साहित छौँ । मैले थोरै भाडा लिएर पूरै घर धुर्मुसलाई कार्यालय राख्न दिएको छु’, उनले भनिन, ‘रंगशालालाई अबरोध गर्ने हाम्रो कुनै मनसाय छैन ।’

चन्द्रकलाले सडक बनाउने विषयमा निजी जग्गा काटिने भएपछि आफूहरूले त्यसबारेमा कुरा उठाएको बताइन् । उनले भनिन्, ‘सडक बनाउने भए अर्कोतर्फ रहेको सरकारी जग्गालाई प्रयोग गर्नुपर्छ । यो विषयमा सीताराम कट्टेल ‘धुर्मुस’ले मान्नुभएन । अनि विवाद भयो ।’

अर्का स्थानीय इन्द्रबहादुर बस्नेत भन्छन, ‘जनताले रंगशाला नबनोस् भन्ने चाहेको छैन, हामी सहयोग गर्छाैं । तर, बाटो विस्तार नगरी सुख छैन । अहिले नै बाटो दिनुपर्छ भन्ने हाम्रो कुरा हो ।’

पछिल्लोपटक सीताराम कट्टेलल धुर्मस चितवन आएका बेला त्यहाँका स्थानीय टोल विकास संस्थाका अगुवाहरुको बैठक फाउण्डेशनकै कार्यालयमा बसेको थियो । बैठकमा ३० भन्दा बढी स्थानीय अगुवा सहभागी थिए ।
चार महिनादेखि उठेको बाटोको यही विवादका कारण जस्तापाताको बार लगाउन नपाउँदा सामानको सुरक्षामा चुनौती थपिएको सीताराम कट्टेलले स्थानीयसँग बताए । रंगशालाका लागिसमेत बाटो चाहिने भएकाले फाउण्डेशनको तर्फबाट सक्दो सहयोग गर्ने उनले बैठकमा बताएका थिए ।

तर, बाटोका लागि यति मिटर छाड्न सक्छु भनेर अहिल्यै निर्णय दिन नसक्ने कट्टेलको भनाइ थियो । रंगशालाको डीपीआर तयार भएपछि बाटोका लागि कति जग्गा छाड्ने भन्ने टुंगो लाग्ने बताएका थिए ।

रंगशालाको छेउसम्म करीव १० मिटर जमिन बाटोका लागि छाड्न सकिने गरी डीपीआर बनाउने काम भइरहेको जानकारी पनि कट्टेलले गराएका थिए । धुर्मसले बैठकमा भनेका थिए, ‘अहिले ७ मिटरको बाटो छ । हाम्रो साइडबाट कम्तिमा १० मिटर छाड्दा १७ मिटर हुन्छ, यहाँहरुले ३ र४ मिटर छाड्नुभयो भने ३१ मिटर हुन्छ ।’

सो बैठकमा धुर्मुसले सामान सुरक्षाका लागि जस्ताको बार लगाउन दिन अनुरोध गरेका थिए । स्थानीयले जस्ताले बार्न दिने सहमति त दिए तर, त्यसका लागि दुई दिन समय मागे ।

स्थानीयले समय मागेपछि बैठकमा लिखित सहमति भएन । सोमबार दुई दिन कट्यो, थप केही कुरा भएन । त्यसपछि मंगलबार फाउण्डेशनले जस्ताले बार लगाउन थाल्यो । र, बुधबार प्रकाश कँडेलको नेतृत्वमा डोजर लगाएर बार भत्काइयो ।

 

तर, फाउण्डेशनले लगाएको मात्र होइन, कृषि तथा वनविज्ञान विश्वविद्यालयको तारबार र रुखसमेत ढलाइएको छ । विश्वविद्यालयका अनुसार करीव ५०१ सिमेन्टका पोल लडाइएको छ, जसमध्ये आधा जति फाउण्डेशनले निर्माण गर्न लागेको रंगशालाको क्षेत्रमा पर्छ भने आधा विश्वविद्यालयतिर ।

प्रकाश कँडेल सत्तारुढ नेकपाका स्थानीय नेतासमेत हुन् । उनकै अगुवाइमा डोजर लगाउनुलाई कतिपयले जग्गाको ब्यापारसँग जोडेर हेरे । यो बाटो ३१ मिटर भयो भने त्यस क्षेत्रको जग्गाको भाउ ह्वातै बढ्ने भएकाले अहिले रंगशाला बनेकै बेला उनीहरुले चलखेल गरेको कतिपयको आरोप छ ।

अहिले आएर सीताराम कट्टेलले ‘रंगशाला बनाउन ४० बिघा जग्गा चाहिने रहेछ मैले २० बिघा जग्गा मात्रै मागेर गल्ती गरेँ’ भन्दै हिँड्न थालेको एक स्थानियले बताए । स्थानीयहरूले रंगशालातिर रहेको रामपुर कृषि क्याम्पसको जग्गालाई काटेर सडक विस्तार गर्न सुझाव दिएका छन् । यो प्रस्तावलाई सीताराम कट्टेल ‘धुर्मुस’ले मानेका छैनन् ।


टोल विकास समितिका अध्यक्ष मीनबहादुर बस्नेतले पनि सीताराम कट्टेल ‘धुर्मुस’सँग कुराकानी हुँदा स्थानीयको पीरमर्का बुझ्ने विषयमा कुनै चासो नदिएको बताए । ‘सडक बनाउने विषयमा स्थानीयको जग्गा काटिने र सुकुम्बासी बन्ने कुरा भनेका थियौँ । उहाँले खासै चासो दिनुभएन । महानगरपालिकामा पनि लेखेर समस्याको समाधन खोज्न भन्यौँ । कुनै जवाफ आएन’, अध्यक्ष बस्नेतले भने ।
सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले आरोप लगाए जस्तो कमिशन मागेर दुःख दिएको भन्ने कुरालाई अध्यक्ष बस्नेतले सिधै अस्वीकार गरिदिएका छन् । ‘हामीसँग मिडिया छैनन् । उहाँहरू ठूलो मान्छे हुँ भन्दैमा जे पायो त्यही आरोप लगाउन पाइँदैन’, उनले भने ।
स्थानीयलाई पेलेरै आफ्नो काम अगाडि बढाएका ‘धुर्मुस–सुन्तली’ मिडिया र सामाजिक सञ्जालमा लोकप्रिय भएपनि स्थानीयका कुरा प्रकाश कँडेलले साथ दिएका कारण जति नै विरोध भएपनि स्थानीयले प्रकाश कँडेलको बचाउ गरेका छन् ।

रंगशाला निर्माणस्थलसम्म पुग्ने बाटोलाई विस्तार गरेर सडक बनाउने विषयमा मेयर रेणु दाहाललाई पनि पहिलादेखिनै जानकारी थियो । तर, मेयर दाहालले पनि समयमा समाधान खोज्न कुनै पनि पहल नगरेको टोल विकास समितिका अध्यक्ष बस्नेतले बताए ।
मेयर दाहालले पनि विज्ञप्ति जारी गरेर प्रकाश कँडेललाई कारबाहीको माग र बार भत्काएकोमा क्षतिपूर्ति भराउन दवाव दिएकी छिन् । कुनै बेला मेयरमा रेणु दाहाललाई जिताउन विशेष भूमिका खेलेका प्रकाश कँडेललाई आहिले आएर पार्टी्भित्रैबाट गुटको राजनीतिका कारण कारबाहीमा पारिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले प्रकाश कँडेलसहितका व्यक्तिहरूलाई पक्राउ गरेर कारबाही शुरू गरेका छन् । तर, त्यहाँको विवादको जड के थियो भन्नेबारेमा एसपी मल्लले ध्यान नदिएको आरोप स्थानीयले लगाएका छन् ।
बार भत्काउन बिहान साढे छ बजेबाट शुरू भएको थियो । साढे चार घण्टा लगाएर बार भत्काइएको समितिका अध्यक्ष बस्नेतले बताए । उनले भने, ‘नजिकै रहेको प्रहरी प्रशासन कहाँ थियो ? मेयर रेणु दाहाल कहाँ हुनुहुन्थ्यो ? अहिले आएर पानीमाथिको ओभानो बन्न खोज्ने ? प्रकाश कँडेल र स्थानीयलाई दोष दिने ?’ स्थानयिको प्रश्न छ ।

कुञ्जना घिमिरे ‘सुन्तली’ले भनेकी छिन, ‘त्यस्ता अपराधी, देशद्रोही प्रकाश कँडेलको नागरिकता खोसिनुपर्छ । त्यो नेपाली नागरिक होइन । अन्यत्रै लखेटियोस् । त्यस्ता सन्तानलाई बाँच्ने अधिकार छैन । त्यस्तो सन्तान जन्मदिन आमा‘। त्यो व्यक्तिलाई जहाँ देख्यो त्यही कारबाही गर्नुपर्छ ।’

‘यो जतिपनि बार बनेको छ । जतिपनि काम भएको छ । सबै मलेसिया, कतार, दुबइमा काम गर्ने खाडीमा काम गर्ने, रगत पसिना बगाउने आफ्नो तरकारी खर्च कटाएर दिएको दाजुभाई दिदी बहिनाको पसिनालाई त्यसले हिजो डोजर लगायो’, उनले भनेकी छिन्, ‘प्रकाश कँडेल भन्ने मान्छेको पृष्ठभूमिमा नै जान जरुरी छ सबै जना । हिजो कहाँबाट आयो ? यो गाउँ र यो ठाउँको पनि होइन रे त्यो मान्छे । त्यो मान्छे कहाँबाट आइरहेको छ ? हामीलाई किन बिर्गादै छ । हामीलाई त्यसले के नराम्रो कुरा सिकाउँदै छ भन्ने कुरा सबै गाउँलेले सिक्न जरुरी छ ।’

‘यहाँ रंगशाला बन्ला–नबन्ला यदि तपाईहरूको मानसिकता बनेन भनेपछि यो रंगशाला सञ्चालनमा पनि आउँदैन । त्यो व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लियो भनिएको छ । त्यसले चित्त बुझ्दैन । त्यस्ता धेरै नियन्त्रणमा लिएका छन् । त्यो अपराधी हो । कोही अपराधका नाममा निर्दोष मान्छे पक्राउ गरे पनि अहँ हामी कसैलाई पनि चित्त बुझेन । त्यो अपराधीलाई खुलेआम अनुहार देखाउनुपर्छ । यो अपराधी हो भनेर जुत्ताको माला लगाउनुपर्छ । जति पनि बाहिरबाट रकम ल्याएर यहाँ बगाएका छौं सहयोगी मनहरूसँग घुँडा टेकेर माफी माग्नुपर्छ ।’(सुन्तलीको भनाइ जस्ताको तस्तै ।) सीताराम कट्टेल ‘धुर्मुस’ले पनि प्रकाश कँडेललाई ‘अपराधी’ भनेका छन्

तर, स्थानीयबासी यो आरोप स्वीकार्न तयार छैनन् । उनीहरु यो माग कँडेल वा पक्राउ परेकाहरुको मात्र नभई सिंगो गाउँको भएको बताउँछन् । पटक पटक ध्यानाकर्षण गराउँदा पनि वेवास्ता भएकाले बाध्य भएर दुःखद कदम चाल्नु परेको उनीहरुको भनाइ छ । उनीहरुले पक्राउ परेकाहरुलाई रिहा गरी समस्या समाधान नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन् ।

धुर्मस सुन्तली फाउण्डेशनले रंगशाला निर्माण तत्कालका लागि स्थगित गरेको छ । रंगशाला निर्माणमा असुरक्षा भएको र काम गर्ने वातावरण नभएकाले काम रोकिएको फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बताएका छन् । स्थानीयबासी, राजनीतिक पार्टी र प्रशासनका तर्फबाट काम गर्ने वातावरण तयार भए काममा फर्किने उनले बताएका छन् ।

अब के हुन्छ त ?

यो विवादमा स्थानीयबासीलाई रंगशाला बनिसक्दा ३१ मिटर बाटोका लागि बस्ती नै छाड्नुपर्ने हो कि भन्ने मनको बाघले खाएको देखिन्छ । तर, उनीहरुले आफ्ना माग पूरा गर्ने नाममा देश विदेशमा बसेका नेपालीहरुले चन्दा दिएर हालिएको बारमा जोडर नै लगाएपछि यो घटना सर्वत्र आलोचनाको विषय बन्न पुगेको छ ।
यो घटनामा भरतपुर महानगरको पनि कमजोरी देखिन्छ । रंगशाला निर्माण सुरु भएसँगै देखिएको सडक विवादलाई समयमै प्रष्ट पार्न नसक्नु महानगरपालिकाको कमजोरी हो ।

अब स्थानीयका माग कति जायज छन, कति सम्बोधन गर्न सकिन्छ भनेर महानगरले टुंगो नगर्दासम्म रंगशाला निर्माणको काम अघि बढ्न सक्ने देखिँदैन ।

यसमा मेयर रेनु दाहालले समन्वयका लागि प्रयास गरिरहेको प्रतिक्रिया दिएकी छिन् । यसका साथै धुर्मुस सुन्तलीले पनि आवेगमा आएर स्थानीयवासीलाई ‘देशद्रोही’ भन्दै वक्तव्यबाजी गर्दाखेरि परिस्थिति थप जटिल बनेको छ । त्यसरी आक्रोश पोख्नुको साटो फाउन्डेसनले बाटोबारे स्थानीय सरकारबाट निर्णय गराउने र स्थानीयबासीलाई विश्वासमा लिएर काम गर्नु नै हितकर हुने देखिन्छ ।

किनकि, स्थानीयबासीको साथ र सहयोग भएन भने रंगशाला निर्माणको सहज वातावरण बन्न सक्दैन । स्थानीयवासीले पनि आफूहरु रंगशाला निर्माणको विरोधी नभएको र सहयोग गर्न तयार रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्