कोरोना रोकथामको लागि हामीले सबै स्रोत साधन परिचालन गरेको छौँः मेयर श्रेष्ठ

कोरोना रोकथामको लागि हामीले सबै स्रोत साधन परिचालन गरेको छौँः मेयर श्रेष्ठ

नवलपरासी बर्दघाट सूस्ता पूर्व । नेपालका तीनै तहका सरकारमध्ये कारोना रोकथामको लागि स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण रहेको हुन्छ । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले देवचुली नगरपालिकाका मेयर पूर्ण कुमार श्रेष्ठलाई नगरमा कोरोनाको अवस्था कस्तो छ र रोकथामको लागि नगरपालिकाले के कस्ता प्रयासहरू गरिरहेको छ भन्ने प्रश्न गरेका थियौँ । उहाँले नगरपालिकामा कोरोना संक्रमणको दर बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकामा ५७ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको छ ती मध्ये २० जना ठीक भई घर फर्किसकेका छन् भने २७ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । ’ भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिबाट संक्रमण फैलिएको उहाँले बताउनुभयो ।

हालसम्म ८६१ जनाको पि.सि.आर र १०२६ जनाको आर.डि.टी परीक्षण भइसकेको श्रेष्ठले बताउनुभयो । त्यसैगरी नगरमा २ वटा क्वारेन्टाइनको व्यवस्था छ भने हाल ५ जना व्यक्ति क्वारेन्टाइनमा हुनुहुन्छ । होम क्वारेन्टाइनमा पनि २० जना व्यक्ति रहेको मेयर श्रेष्ठले बताउनुभयो । कोरोना भाइरससँग लड्न नगरपालिकामा चाहिने स्वास्थ्यकर्मी तथा प्रविधि नगरबाट नै व्यवस्था गर्दै आइरहेको उहाँले जानकारी गराउनुभयो ।

नगरपालिकाको जनताहरूलाई कसरी यस महामारीबाट बचाउन सकिन्छ भन्ने कुरामा जनप्रतिनिधिहरू चिन्तित रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘विश्वनै आतङ्कीत भएको अवस्था छ । नगरबासीहरूलाई यस रोगबाट बचाउन गर्न सक्ने सम्पूर्ण कुराहरू गरेका छौँ । ’नगरपालिकाले टोल टोलमा माइकिङ गरेर नागरिकलाई सतर्कता गराउने, पोस्टर पम्पलेट टाँस्ने र स्वास्थ्यकर्मी परिचालन गरी सम्पूर्ण नागरिकलाई यसबाट बच्नलाई सचेत गराइरहेको श्रेष्ठले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्