कोरोना मुक्त बन्यो बैतडीको दोगडाकेदार गाउँपालिका

कोरोना मुक्त बन्यो बैतडीको दोगडाकेदार गाउँपालिका

बैतडी । नेपालका तीनै तहका सरकार मध्ये कोरोना रोकथामको लागि स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण रहेको हुन्छ । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजकलाई गाउँपालिकामा कोरोनाको अवस्था कस्तो छ र रोकथामको लागि गाउँपालिकाले के कस्ता प्रयासहरू गरिरहेको छ भन्ने प्रश्न गरेको थियौँ । उहाँले गाउँपालिकामा ४५ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको थियो भने हाल सबै जना ठीक भई घर फर्किसकेको बताउनुभयो । संक्रमित व्यक्ति सबै भारत र अन्य मुलुकबाट आएका नागरिक रहेका उहाँले बताउनुभयो ।


हालसम्म ३४६ जनाको पि.सि.आर र १०२५ जनाको आर.डि.टी परीक्षण भइसकेको उहाँले बताउनुभयो । गाउँपालिकामा क्वारेन्टाइनमा बस्नेको संख्यामा कमी आएपछि अहिले एउटा मात्र क्वारेन्टाइनको व्यवस्था रहेको संयोजकले बताउनुभयो । त्यसैगरी कोरोना भाइरससँग लड्न गाउँपालिकामा चाहिने स्वास्थ्यकर्मी तथा प्रविधि गाउँपालिकाबाट नै व्यवस्था गर्दै आइरहेको उहाँले बताउनुभयो ।


गाउँपालिकाले टोल टोलमा माइकिङ गरेर नागरिकलाई सतर्कता गराउने, पोस्टर पम्पलेट टाँस्ने र स्वास्थ्यकर्मी परिचालन गरी सम्पूर्ण नागरिकलाई यस महामारीबाट बच्नलाई सचेत गराइरहेको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्