कोरोनालाई न्यूनिकरण गर्न थप निषेधाज्ञा जारी गरेका छौँः अध्यक्ष यादव

कोरोनालाई न्यूनिकरण गर्न थप निषेधाज्ञा जारी गरेका छौँः अध्यक्ष यादव

सिरहा । विश्वभरि फैलिएको कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि सिरहा जिल्लाको नरहा गाउँपालिका सक्रियताका साथ लागि परेको छ । गाउँपालिकाले संक्रमण फैलिन नदिन नाकाहरूमा कडाइ गर्नका साथ अति आवश्यक कामबाहेक नागरिकहरूलाई घर बाहिर निस्कन नदिएको गाउँपालिका अध्यक्ष रामशरण यादवले बताउनुभयो । गाउँपालिकामा ११ जनामा कोरोना संक्रमण देखिएका मध्येमा ५ जना उपचार पश्चात ठीक भई घर फर्किसकेको र बाँकी ६ जना आइसोलेसनमा उपचार भइरहेको अध्यक्ष यादवले जानकारी गराउनुभयो ।


हालसम्म गाउँपालिकामा १७६ जनाको पि.सि.आर र १३६ जनाको आर.डि.टी परीक्षण भइसकेको छ । गाउँपालिकाले सुरुमा धेरै संख्यामा क्वारेन्टाइनको व्यवस्था गरेकोमा हाल क्वारेन्टाइमा बस्नेको संख्यामा कमी आएकाले एउटा मात्र व्यवस्था गरिरहेको यादवले बताउनुभयो । हाल क्वारेन्टाइनमा बस्नेको संख्या भने ७ जना रहेको छ । भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिबाट संक्रमण फैलिएको उहाँले जानकारी गराउनु भयो ।

कोरोना भाइरससँग लड्न गाउँपालिकामा आवश्यक पर्ने स्वास्थ्यकर्मी तथा प्राविधिकहरू जिल्लाबाटै उपलब्ध भएको अध्यक्षले बताउनुभयो । महामारीले विभिन्न समस्याहरू उत्पन्न भएतापनि हामी सबै एकजुट भई सामना गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस महामारीले धेरै समस्या झेल्नुपरेको छ । गाउँपालिकामा २७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यस अवस्थालाई लिएर नागरिकको अलिअलि गुनासो आउने गरेको छ । यसको कारणले बजेट विनियोजन गर्न पाएको छैनौँ । विनियोजन गरे लगत्तै विकास निर्माणको कामलाई अगाडि लाने योजना छ । ’

गाउँपालिकाले पत्रपत्रिका, रेडियो, सामाजिक सञ्जाल तथा माइकिङ गरेर सम्पूर्ण नागरिकलाई यस महामारीबाट बच्नलाई सचेत गराइरहेको छ । मिडियाले जनतासामु सत्य तथ्य समाचार फैलाउन एकदम महत्वपूर्ण भूमिका खेलेको भन्दै अध्यक्ष यादवले नेपालभर रहनुभएका सम्पूर्ण नागरिकहरूलाई कोरोना भाइरसँग लड्नका लागि सबै नियम पालना गरी सचेत रहन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्