कोरोनाको भयावह स्थिति नआउन सबै जना मिली लडिरहेका छौंः अध्यक्ष यादव

कोरोनाको भयावह स्थिति नआउन सबै जना मिली लडिरहेका छौंः अध्यक्ष यादव

सप्तरी । विश्वभरि फैलिएको कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि सप्तरी जिल्लाको राजगढ गाउँपालिका सक्रियताका साथ लागि परेको छ । गाउँपालिकाले संक्रमण फैलिन नदिन नाकाहरूमा कडाइ गर्नका साथ अति आवश्यक कामबाहेक नागरिकहरूलाई घर बाहिर निस्कन नदिएको गाउँपालिका अध्यक्ष परमानन्द यादवले बताउनुभयो । गाउँपालिकामा ७० जनामा कोरोना संक्रमण देखिएका मध्येमा ६९ जना उपचार पश्चात ठीक भई घर फर्किसकेको र १ जनाको उपचार गर्ने क्रममा मृत्यु भएको अध्यक्ष यादवले जानकारी गराउनुभयो ।


हालसम्म गाउँपालिकामा ३०० जनाको पि.सि.आर परीक्षण भइसकेको छ । गाउँपालिकाले सुरुमा ५ वटा क्वारेन्टाइनको व्यवस्था गरेकोमा हाल क्वारेन्टाइमा बस्नेको संख्यामा कमी आएकाले एउटा मात्र व्यवस्था गरिरहेको यादवले बताउनुभयो । हाल क्वारेन्टाइनमा बस्नेको संख्या भने १० जना रहेको छ । भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिबाट संक्रमण फैलिएको उहाँले जानकारी गराउनु भयो ।

महामारीले विभिन्न समस्याहरू उत्पन्न भएतापनि हामी सबै एकजुट भई सामना गरिरहेको उहाँले बताउनुभयो । त्यसैगरी कोरोना भाइरससँग लड्न गाउँपालिकामा आवश्यक पर्ने स्वास्थ्यकर्मी तथा प्राविधिकहरू जिल्लाबाटै उपलब्ध भएको अध्यक्षले बताउनुभयो । गाउँपालिकाले पत्रपत्रिका, रेडियो, सामाजिक सञ्जाल तथा माइकिङ गरेर सम्पूर्ण नागरिकलाई यस महामारीबाट बच्नलाई सचेत गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्