कारोनालाई पराजय गर्दै लम्कीचुहा नगरपालिकाको अधिकांश संक्रमित घर फर्केका छन्

कारोनालाई पराजय गर्दै लम्कीचुहा नगरपालिकाको अधिकांश संक्रमित घर फर्केका छन्

कैलाली । नेपालका तीनै तहका सरकार मध्ये कोरोना रोकथामको लागि स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण रहेको हुन्छ । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले लम्कीचुहा नगरपालिकाको स्वास्थ्य शाखाका जयन्ति बि.सिलाई नगरमा कोरोनाको अवस्था कस्तो छ र रोकथामको लागि नगरपालिकाले के कस्ता प्रयासहरू गरिरहेको छ भन्ने प्रश्न गरेको थियौँ । उहाँले नगरपालिकामा विदेशबाट आउने व्यक्तिहरुलाई ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि नगरले उच्च सतर्कता अपनाएको बताउनुभयो । नगरपालिकामा २५५ जनालाई कोरोना संक्रमण देखिएको थियो ती मध्ये १ जनाको मृत्यु भएको र २४८ जना कोरोनालाई पराजय गरी घर फर्किसकेको उहाँले बताउनुभयो । त्यसैगरी बाँकी ६ जनालाई आइसोलेसनमा राखेर उपचार गरिरहेको बि.सिले जानकारी गराउनुभयो ।


हालसम्म २६५९ जनाको पि.सि.आर र ४९५९ जनाको आर.डि.टी परीक्षण भइसकेको बि.सिले जानकारी गराउनुभयो । सुरुमा विद्यालयमा क्वारेन्टानइको व्यवस्था गरेको नगरपालिकाले हाल त्यहाँबाट हटाएर नगरस्थित राधास्वामीको सत्सङ हलमा राख्ने गरेको उहाँले जानकारी गराउनुभयो । क्वारेन्टाइनमा भने अहिले कोही पनि नागरिक नभएको साथसाथै नगरले १ वटा घर भाडामा लिएर २० बेडको आइसोलेसनको व्यवस्था गरेको बि.सिले बताउनुभयो ।


यस महामारीको समयमा नगरपालिकामा चाहिने स्वास्थ्यकर्मी तथा प्रविधिको सबै व्यवस्था नगरपालिकाले नै गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस नगरपालिकामा जनशक्तिको कमी भएतापनि यहाँ भएका स्वास्थ्य चौकिका स्वास्थ्यकर्मी नियुक्ति गरेर स्वाँब संकलन तथा आइसोलेसनको रेखदेखका लागि व्यवस्था गरेका छौँ । ’ स्वास्थ्यकर्मीको भने हाल कमी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वडामा भएका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविकाहरु सबै बसेर छलफल गरी एक वडामा एकजना स्वास्थ्य स्वयं सेविका मार्फत विदेशबाट आउने व्यक्तिको विवरण लिने उनीहरुको अवस्था बारे जानकारी लिई स्वाँब संकलन गरेर परीक्षणको लागि धनगढी पठाउने गरेका छौँ । ’

नगरपालिकाले टोल टोलमा माइकिङ गरेर नागरिकलाई सतर्कता गराउने, पोस्टर पम्पलेट टाँस्ने र स्वास्थ्यकर्मी परिचालन गरी सम्पूर्ण नागरिकलाई यसबाट बच्नलाई सचेत गराइरहेको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्