काठमाडौंमा भेटियो डेंगुको संक्रमण गराउने लामखुट्‍टे, कसरी बच्‍ने ?

काठमाडौंमा भेटियो डेंगुको संक्रमण गराउने लामखुट्‍टे, कसरी बच्‍ने ?

काठमाडौं । करिब चार महिनादेखि सुनसरीमा देखिएको डेंगुको संक्रमण गराउने लामखुट्‍टे काठमाडौंमा पनि भेटिएको छ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको टोलीले काठमाडौंका अस्पताललगायतका स्थानमा स्थलगत अध्ययन गर्दा काठमाडौंको ग्वार्को, वनस्थलीमा डेंगु गराउने लामखुट्‍टे भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

बागमतीको किनारमा बसोबास गर्ने मानिसहरु उच्च जोखिममा रहेको महाशाखाका जनस्वास्थ्य प्रमुख घनश्याम पोखरेलले बताए । “डेंगु गराउने एडिस एजिप्टाई नामक लामखुट्टे सफा पानीमा बस्ने हुँदा केही समयअघि काठमाडौमा विज्ञहरुको टोलीले अध्ययन गर्दा ग्वार्को र वनस्थली क्षेत्रमा ती लामखुट्‍टेको अण्डा भेटिएको थियो, जसले गर्दा काठमाडौंमा पनि डेंगुको उच्च जोखिमा रहेको पत्ता लागेको हो,” उनले भने, “यो लामखुट्‍टे वर्षाको समयमा आकासे पानी वा खानेपानी नछोपी राखेको छ भने त्यस स्थानमा यसले फुल पार्ने गर्छ, त्यो फुल पानी नराख्दा पनि त्यो भाडामा नै टाँसिएर रहने र पानी हालेपछि पुन देखिने हुन्छ ।” गत वर्ष ठुलोभर्‍याङमा डेंगुका बिरामी भेटिएको उनले बताए ।

पाँच वर्षअघिसम्म १२ जिल्लामा फाटफुट रुपमा देखिएको डेंगु पाँच वर्षकाबीचमा ५६ जिल्लामा देखा परिसकेको महाशाखाले जनाएको छ । हालसम्मको तथ्यांक हेर्दा सबैभन्दा बढी डेंगुको संक्रमणको १ नम्बर प्रदेश देखिएको छ । जसमा तीन हजार एक सय ५२ जनामा डेंगु देखिएको छ । प्रदेश २ मा आर्थिक वर्ष २०७६-०७७ को साउन २४ गतेसम्म १२ जनामा डेंगु देखिएको छ । प्रदेश ३ मा १ सय २६ जना, गण्डकी प्रदेशमा २६ जना, प्रदेश ५ मा ९६ जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेंगुको संक्रमण देखिएको महाशाखाले जनाएको छ ।

सन २०१९ मा सुनसरी, मोरङ्, झापा, चितवन, कास्की र मकवानपुरमा महामारीको रुपमा फैलिएको सुनसरीमा मात्र तीन हजार २५ बिरामी भेटिएको महाशाखाका निर्देशक डा. विवेक लाल कर्णले बताए । “एडिस लामखुट्‍टेले टोकेमा मृत्यु र जटिलताको कम देखिने तर उपचार नगरिएमा ५० प्रतिशतसम्म बिरामीको मृत्यु हुनसक्ने हुन्छ,” उनले भने “पछिल्लो विभिन्न अध्ययन हेर्दा अविकसित देशहरुमा मात्र होइन् विकसित देशहरुमा पनि डेंगुको जोखिम बढिरहेको देखिएको छ ।”

पहिला प्रत्येक जिल्लामा किटजन्य रोगहरुको अनुगमन नियन्त्रणका लागि जनशक्ति थियो । तर अहिले फाजिलमा रहेकोले पनि डेंगु नियन्त्रणमा ल्याउन नसकिएको उनले बताए । उनले भने, “गत वर्षको तुलनामा यस वर्ष अझै दशैंसम्म डेंगुका बिरामी बढ्ने देखिएको छ । नेपालमा सन् २००४ मा एक जना विदेशी नागरिकमा डेंगु देखिएको थियो ।” पहले डेंगु गराउने लामखुट्‍टे तराईमा मात्र भेटिन्थ्यो तर अहिले जलवायु परिवर्तनका कारणले पनि तराईका लामखुट्‍टेहरु पहाड र हिमाली क्षेत्रमा पनि भेटिने गरेको स्वास्थ्य सेवा विभागका महानिर्देशक सुसिलनाथ प्याकुरेले बताए । “किटजन्य रोगको जोखिम उच्च पहाडी जिल्लामा पनि बढ्दा नियन्त्रणमा चुनौती थपिदै गएको छ,” उनले भने, “विगत ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको देखिन्छ । ”

डेंगु गराउने लामखुट्‍टेको खोजी तथा नष्टका गर्ने अभियान सञ्चालनका लागि ८५ वटा स्थानीय तहमा एक करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको छ । केन्द्रमा यस रोग नियन्त्रणका लागि एक करोड ७१ लाख बजेट विनियोजन गरिएको महाशाखाले जनाएको छ ।

गत शुक्रबारसम्ममा बंगलादेशका ३५  हजार जना डेंगुका बिरामी देखिएका थिए भने श्रीलंकामा ७२ हजार बिरामी भेटिएका छन् । पछिल्लो केही महिनायता डेंगु विश्वव्यापि समस्याको रुपमा देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनले डेंगुको संक्रमणबाट एक जना विरामी भर्ना भएर उपचार गराउँदा करिब ७० डलरसम्म खर्च हुने गर्छ ।

विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका पाइएकोसंगठनले जनाएको छ  । एक सय २८ भन्दा बढी मुलुकका ३.९ अरब मानिसहरु यस रोगको जोखिमको क्षेत्रमा बसोबास गर्दछन् । विश्वमा प्रत्येक वर्ष झन्डै ३९ करोड डेंगु रोगको संक्रमण हुने गर्दछ भने २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने बताइएको छ ।

डेंगुका लक्षण 

एक्कासी उच्च ज्वरो आउने ।
ज्वरो पाँचदेखि सात दिनसम्म निको नहुने
असाध्यै टाउको दुख्ने ।
आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ।
ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने ।
शरीरमा बिबिरा आउने ।
धेरै ज्वरो आए माथिका लक्षणहरुमध्ये दुई वा दुईभन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ ।

यसरी बच्न सकिन्छ 

पानी जम्नसक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ ।
पानीट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ।
कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।
एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ ।
सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ साथै साना बालबालिकालाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्