एसईई सकेका विद्यार्थीलाई टिप्स : कसले कस्ता विषय पढ्ने ?

एसईई सकेका विद्यार्थीलाई टिप्स : कसले कस्ता विषय पढ्ने ?

-प्रा. डा. मनप्रसाद वाग्ले, शिक्षाविद्
परीक्षा र नतिजा नियमित प्रक्रिया हुन् । केही दिनअघि माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आइसकेको छ र विद्यार्थीको हातहातमा नतिजा पुगिसकेको छ । जिपिए ०.८ देखि ४ सम्म ल्याउने विद्यार्थी रहेका छन् । जिपिएमा नतिजा दिएकाले ३.६ आएकाले ए भन्ने कि, ए प्लस भन्ने अन्योल रहेको पाएको छु । जिपिए ३.६ भनेको ग्रेड पोइन्टको औसत अंक हो । अक्षरमा दिने ए, बी, सी, डी भनेको उच्चतम सीमा हो । हाम्रोमा ८० देखि माथि र ९० भन्दा कमलाई ए ग्रेड दिइएको छ । ९० र १०० बीचमा आउनेको ए प्लस त हुन्छ तर ए प्लस ल्याएकाको १०० प्रतिशत हुँदैन । ए प्लस लेख्नेबित्तिकै उच्चतम बिन्दु संकेत गर्दछ । ए प्लस भन्नु र मेरा छोराको १०० प्रतिशत आयो भनेर दाबी गर्नु फरक कुरा हो ।

अहिले सामाजिक सञ्जालमा आफ्ना छोराछोरीको ए प्लस आयो भन्ने देखिन्छ, सरकारले नै ए प्लस दिएको छैन, कसरी आउँछ ए प्लस ? औसतमा दिएको अंकले कुन क्याटेगोरीमा परेछु भन्ने हो । आउटस्ट्यान्डिङ, एक्सेलेन्ट, भेरी गुड, गुडलगायत नौवटा व्याख्या गरेको छ । म कहाँ परेछु भनेर बुझ्नका लागि त्यो राखिएको हो । यसमा अन्योल देखिएको छ । स्पष्ट हुनु जरुरी छ ।

ग्रेडिङको मुख्य उद्देश्य म कुन विषयमा राम्रो र कुन विषयमा कमजोर छु, कुन विषयमा कति रेन्जमा पर्छु भनेर देखाउने हो । ग्रेडिङको अर्थ ३२ आए पास र ३१ आए फेल भनेको होइन । पहिले ६० आउनु भनेको के हो, ८० आउनु भनेको के हो भनेर व्याख्या थिएन । हिजो ३१ ल्याउने किन फेल हुन्छ, ३२ ल्याउने किन पास हुन्छ कसैले जवाफ दिन सकेको थिएन । आज कुनै ३.६ भन्दा माथिको जिपिए ल्याएको छ सबैभन्दा माथिको रेन्जमा प¥यो भन्ने व्याख्या हुन्छ । कुनै विद्यार्थीले ए प्लस ग्रेड ल्याएको छ भने त्यो विषयमा ऊ आउटस्ट्यान्डिङ छ भन्ने बुझाउँछ । ग्रेडिङले कुन विषयमा त्यो विद्यार्थी कहाँ रहन्छ, कुन विषयमा अब्बल छ, कुन विषयमा मेहनत गर्न बा“की छ, त्यो विद्यार्थीको विषयगत विवरण बोल्छ ।

कुन विषय कहाँ जाने ?

आउटस्ट्यान्डिङ, एक्सेलेन्ट, भेरी गुड, र गुड यो चारवटा मापदण्डभित्रको नतिजा म्याथ, साइन्स, इंग्लिस र नेपालीमा आएको छ भने उसको झुकाव साइन्समा भएमा साइन्समा जान सक्छ । इंग्लिस र नेपालीमा पनि राम्रो भएकाले ऊ मानविकी तथा सामाजिक शास्त्रतिर पनि जान सक्छ । अभिभावकले विद्यार्थीको रुचि बुझेर त्यस क्षेत्रमा जान सहयोग गर्नुपर्छ । शैक्षिक संस्थामा आउनेलाई त्यहाँ पनि राम्रो काउन्सिलिङ गर्नुपर्छ । मेरो विद्यालयमा राम्रो पढाइ छ, यहीँ आएर पढ भन्ने काउन्सिलिङ हुन्छ । आफ्नै कलेजमा भर्ना हुन बाध्य पार्ने काउन्सिलिङ गर्नु हुँदैन ।

साइन्स, म्याथ, इंग्लिस र नेपालीमा एसइईमा राम्रो नतिजा ल्याएको छ भने पहिलेको पृष्ठभूमिमा के बलियो थियो त्यसलाई पनि हेर्नुपर्छ । ९ कक्षाभन्दा अघि म्याथ साइन्सभन्दा भाषा राम्रो थियो भने एसइईमा ए वा ए प्लस आए पनि साइन्स पढ्न बल गर्नु हुँदैन । एसइईको नतिजाले मात्र उसलाई भोलि माथि उकास्दैन । विद्यार्थीलाई व्यवस्थापन, मानविकी, शिक्षा, साइन्स र प्राविधिक के पढ्ने भन्ने विकल्पहरू रहेका छन् । शिक्षा मन्त्रालयले निर्धारण गरेको मापदण्डमा प्राविधिक विषयमा जान पनि गणित विषयमा सी प्लस चाहिन्छ । म्याथमा सी प्लस भन्दा माथि छ, विज्ञानमा रामै छ, तर नेपाली, अंग्रेजी विषयमा त्यस्तो विद्यार्थी प्राविधिक शिक्षामा राम्रो गर्न सक्छ । प्राविधिक विषयहरू पनि अरू साधारणसरह कक्षामा बसेर पढ्न मिल्ने बनाएको छ ।

सिटिइभिटी र कक्षा ११ मै प्राविधिक विषय पढ्न पाइन्छ । प्राविधिक विषय पढेर भोलि इन्जिनियरिङलगायतका क्षेत्रमा जान सकिने बाटो छ। यसअघिको तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्ले बनाएको मापदण्डमा सबैभन्दा कमजोर विद्यार्थी शिक्षामा जान पाउने बाटो बनाएको छ । हाम्रो देशमा कमजोरले शिक्षा पढेको र कमजोर व्यक्ति शिक्षक भएका कारणले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकेका छैनन् । तर, जो भोलि शिक्षामा परिवर्तन ल्याउन सक्छु र शिक्षक बन्ने मन भएका एसइईमा राम्रो नतिजा भएका व्यक्तिहरू शिक्षाका विषय पढ्दा हुन्छ । कमजोर शिक्षामा जानुपर्छ भन्ने छैन ।

व्यवस्थापनमा जानका लागि ३ वटा कुरा हेर्नुपर्दो रहेछ । व्यवस्थापनमा पनि कम्प्युटर, म्याथ र एकाउन्टमा राम्रो हुनुपर्छ । मैले कुन विषयमा कस्तो नतिजा पाए । राम्रो नतिजा पाएको विषय कक्षा ११ मा व्यवस्थापनसँग मिल्ने छ कि, साइन्ससँग छ वा मानविकी त्यसलाई छुट्याउनुपर्छ । एसइईमा पाएको नतिजा र विद्यार्थीको रुचिका आधारमा कक्षा ११ मा विषय छनोट गर्नुपर्छ । यो नितान्त विद्यार्थीको आफ्नो कुरा हो ।

भोलि म के बन्छु भन्ने १० कक्षा पास गरिसकेको विद्यार्थीको मनमा हुन्छ । चाहना र उद्देश्यलाई सहयोग गर्ने गरी नतिजा आएको छ भने राम्रो भयो, नभए उद्देश्य परिवर्तन गनुपर्ने हुन्छ । डाक्टर बन्ने इ्रच्छा हुँदाहुँदै पनि त्यो दक्षता नहुन सक्छ । आफ्नो चाहना र क्षमता बुझ्नुपर्छ । उद्देश्य ठूलै राख्नुपर्छ, तर विकल्प पनि सोच्नुपर्छ । चाहना राखौँ र क्षमतालाई अभिवृद्धि गरेर अगाडी बढौँ । पूर्वाधारको पाटो अहिले कक्षा ११ र १२ पढाउने करिब ३६ सय संस्था छन् । सामुदायिक विद्यालयसँग सम्बन्धित भएर ११ र १२ कक्षा चलेको छ । त्यहाँ राम्रो व्यवस्थापन हुन सकेको छ । एउटा शिक्षकको अनुदानको रकममा ४-५ जना आंशिक शिक्षक राखेर पढाएको छ । अहिले निजीमा अभिभावकलाई धेरै हाइफाई देखाएर विद्यार्थी ल्याउने प्रचलन छ ।

१६ वर्षे बच्चालाई ग्ल्यामरबाट प्रभावित हुनु स्वाभाविक पनि हो । कलेजको आवरण एउटा पक्ष हो, तर त्यस आवरणभित्र नपसी, नबुझी भर्ना हुनु हुँदैन । ठूलो भवन, ग्राउन्ड जसको छ उसको शुल्क पनि बढी छ । अभिभावकको क्षमता हेरेर शैक्षिक संस्था रोज्नुपर्छ । लहैलहैमा भर्ना गर्नु हुँदैन । ठूलो कलेजमा जान पाए हुन्थ्यो भन्ने लागे पनि आफ्ना अभिभावकको आम्दानीले पुग्दैन भने त्यो सोचाइलाई परिवर्तन गर्नुपर्छ । राम्रो पढाइ हुने सानो कलेज भए पनि फरक पर्दैन । आवरणभित्र छिरेपछि शिक्षकको अवस्था बुझ्नुपर्छ । जुन कलेजमा पूर्णकालीन शिक्षक छन् ती कलेजको गुणस्तर राम्रो हुन्छ । कुनै कलेजले हाम्रा सबै शिक्षक फुल टाइम भनिदिन्छन् । कसैले कोर्स कन्ट्र्याक्ट गरेर पनि फुलटाइम शिक्षक भनिदिन्छन्, यो कुरा राम्रोसँग बुझ्नुपर्छ । आंशिक शिक्षकलाई एक ठाउ“बाट अर्कोमा जानका लागि हतार हुन्छ, पर्याप्त समय र ध्यान दिन सक्दैन । त्यस्तो कलेज छान्नु हुदैन् ।

विद्यार्थी कलेज जानु भनेको पाठ्यपुस्तकमा साक्षर हुनका लागि मात्र होइन । एसइईसम्म पाठ्यपुस्तकभन्दा बाहिर लगेनन् । अब होराइजन ठूलो हुनुपर्छ । पाठ्यपुस्तक बाहेकका शैक्षिक, खेलकुद, मनोरञ्जनका कुरा के छन्, हेर्नुपर्छ । पाठ्यक्रमबाहेक भोलि राष्ट्रिय रूपमा चिनाउने कार्यक्रम के छन् भन्ने हेर्नुपर्छ । स्पोर्ट, म्युजिक, वक्तृत्वकला, लेखनकलालगायतका विषय हुनुपर्छ । यी कुरा छैनन् भने त्यो कलेजमा जानु हुदैन । कक्षाकोठाको व्यवस्थापन पनि हेर्नुपर्छ । विद्यार्थीहरू आवश्यकताअनुसार समूह छलफल गर्न मिल्ने खालको छ कि छैन हेर्नुपर्छ । कक्षामा प्रविधि र कक्षाकोठामा कस्ता कुरा लेखिएका छन् हेर्नुपर्छ । हामीले जति पढाएका छौँ इन्टेलेक्चुअल लर्निङ मात्र गराएका छौँ ।
अब इमोसनल (भावनात्मक) लर्निङ चाहिन्छ । यो उमेरका विद्यार्थी इमोसनलरूपमा स्थायित्व भएका हुँदैनन् । रिस, राग, भावना, प्रेम के हो ? यी विषयमा सकारात्मक भावना बनाउन सक्नुपछ, होइन भने यिनै विद्यार्थी भोलि कुलतमा लाग्छन्, बलात्कारी हुन्छन्, कक्षा बंक गर्छन् र यी विद्यार्थी भोलि अभिभावकका लागि पनि बोझ हुन्छन् । त्यसैले अभिभावकले पनि इमोसनल लर्निङ गराउने प्रतिबद्धता माग्नुपर्छ । ग्रुप वर्क, प्रोजेक्ट, समूहमा काम गराउने, एकले अर्काको प्रशंसा गर्ने, क्रिटिकल भएर इमोसनल लर्निङ गराउन सकिन्छ । प्रतिस्पर्धाभन्दा पनि सहभागितामा सिकाउन सकिन्छ । सकारात्मक धारणा जगाउने योगा गराउन सकिन्छ । कक्षामा शिक्षकले पढाएको कुरा ‘डाटा कलेक्सन’ गर्न ग्रुपमा जान सक्छ । यस्तो कुरामा ध्यान दिनुपर्छ । कलेजको इतिहास पनि हेर्नुपर्छ । उक्त कलेजबाट उत्पादन भएका जनशक्ति कत्तिको सक्षम छन्, शिक्षक कत्तिको सक्षम छन् यो कुरा पनि हेर्नुपर्छ ।

सफल हुनका लागि हामी सबै साक्षर हौँ । पाठ्यपुस्तक पढेर मात्र सक्षम भइँदैन । पाठ्यपुस्तक मात्र पढ्दा सिर्जना कहिल्यै माथि उठ्दैन । त्यसका लागि साहित्य पढ्नुपर्छ । फेसबुुकमा धेरै समय खर्च गरिरहनुको सट्टा इन्टरनेट प्रयोग गरेर आफ्नो शिक्षालाई सहयोग पुग्ने सामग्री खोज्न सकिन्छ । सामाजिक सञ्जाललाई पनि शैक्षिक उपलब्धिका लागि प्रयोग गर्न सकिन्छ । आज शिक्षकले पढाएको कुरा नसुतेर भए पनि समीक्षा गर्नुपर्यो, पढ्नुपर्यो । नलेखीकन पढेको कुरा मस्तिष्कमा बस्दैन । पढ्यो भने दुई दिन बस्ला, लेखेको कुरा दुई हप्ता बस्छ । बिर्सियो भने लेखेको कुरा पल्टाएर हेर्न सकिन्छ । शिक्षकले पढाउँदा कतिपय निष्क्रिय भएर पढेको पाइन्छ । शिक्षकले पढाएको कुरा विद्यार्थीले नोट नगर्ने, शिक्षकले कक्षा पसेर लेखाइदिने गरेको पाइन्छ । शिक्षकले भनेको मुख्य बुँदा आफैँ लेख्ने, पाठ्यपुस्तक पढ्ने र नोट बनाउने गर्नुपर्छ । यसले सम्झना शक्ति बढाउनुको साथै व्याख्या गर्ने क्षमता पनि बढाउँछ ।

-नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्