कलंकी-कोटेश्वरमा प्रतिघण्टा ५० किमीमाथि सवारी गुडाउन निषेध

कलंकी-कोटेश्वरमा प्रतिघण्टा ५० किमीमाथि सवारी गुडाउन निषेध

काठमाडौं/ हालै निर्माण भएको चक्रपथस्थित कोटेश्वर–कलंकी सडकमा तीब्र गतिमा सवारी हाँक्न नपाइने भएको छ । ट्राफिक प्रहरीले सो सडकखण्डमा यातायातका साधनको गति सीमा निर्धारण गरेको जनाएको छ ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार अब सवारी चालकले मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा सवारी हाक्न पाउने छैनन् । यस्तै सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको सीमा तोकिएको छ ।

सडक फराकिलो बनाएपछि जथाभावी तीव्र गतिमा सवारीसाधन गुडाउँदा दुर्घटना बढेसँगै ट्राफिक प्रहरीले यस्तो नियम ल्याएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो सडकखण्डको मुख्य लेनमा ५० किमि प्रतिघण्टाको गतिमा मात्रै सवारी गुडाउने नियम लगाएको हो । यो सडकखण्डको सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाले सवारी गुडाउनुपर्ने भएको छ ।

महाशाखाले यो निमय जेष्ठ २१ गते मंगलबारबाट लागू हुने जनाएको छ । हाल यो सडकखण्डमा सवारीसाधनको गति मापन भइरहेको जनाउँदै महाशाखाले तोकिएको भन्दा छिटो गुडाएको पाइएमा कारबाही गरिने जनाएको छ । महाशाखाले तोकिएको भन्दा तीव्र गतिमा सवारी गुडाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४ (६) वमोजिम कारबाही गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्