अज्ञात समूहद्वारा मेलम्चीको १० नम्बर वडा कार्यालयमा आगजनी

अज्ञात समूहद्वारा मेलम्चीको १० नम्बर वडा कार्यालयमा आगजनी

सिन्धुपाल्चोक/ बधुबार बिहानै मेलम्ची नगरपालिकाको वडा १० को कार्यालयमा ताल्चा फोडेर आगजनी गरिएको छ । मेलम्ची नगर – १० शिखरपुर कार्यालयमा सबै कागजात एकै स्थानमा राखेर आगजनी गरिएपछि प्रहरीले घटनास्थलमा अनुसन्धान तिव्र बनाएको छ ।

वडाध्यक्ष भन्छन्– फर्निचर त किन्न सकिएला, अभिलेख अब कहाँ पाउनु !

‘ताल्चा काटेर भित्र भएका सबै कागजपत्र एकै थुप्रो लगाएर जलाएको देखिन्छ, सबै कुरा योजनापूर्वक गरेको देखियो,’ इलाका प्रहरी मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले भने। कसले वडा कार्यालयमा ताल्चा फोरेर आगलागी गर्‍यो भन्नेबारेमा पत्ता लगाइ नसकेको उनले सुनाए। ‘यस विषयमा अनुसन्धान गर्दैछौं,’ उनले भने।
वडाअध्यक्ष भक्तबहादुर खड्काका अनुसार एउटा हल र दुई कोठा भएको भवनभित्रका सबै सामान कामै नलाग्ने गरी जलेका छन् । बिहान साढे पाँच बजेतिर आगो लागेको भनेर स्थानीयले खबर गरेपछि आफू घटनास्थलमा पुगेको बताउँदै उनले भने, ‘फर्निचर त फेरि किन्न सकिएला, तर अभिलेखहरु अब कहाँ पाउनु ?’

करिब २० लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन बनाइएको थियो । भवनभित्र दराज, सोफा, कम्प्युटर, प्रिन्टर, कागजपत्र लगायतका सामान थिए । ती सबै सामान जल्दा जस्ताको छानोसमेत कच्याक कुचुक भएर काम नलाग्ने भएको छ । व डाअध्यक्ष खड्काले यसअघि कसैको धम्की, चेतावनी पनि नआएको र कसले आगो लगायो भन्ने थाहा नभएको बताए ।

कार्यालयमा राखिएका कम्प्युटर, कुर्सी, कागजपत्रदेखि सम्पूर्ण प्राविधिक र फर्निचर खरानी बनेपछि वडा कार्यालय अन्योलमा परेको मेलम्ची –१० अध्यक्ष भक्तबहादुर खड्काले बताए। बिहान अन्दाजी ३ बजे अज्ञात समुहले वडा कार्यालयमा आगजनी गरेका थिए। स्थानीयले बिहान साढे पाँच बजे मात्रै आगो लागेको देखेपछि वडाध्यक्षलाई खबर गरेका थिए। ‘त्यसपछि मैले स्थानीय र प्रहरीलाई खबर गरेर घटनास्थल पुगे,’ वडाध्यक्ष खड्काले भने।

प्रतिक्रिया दिनुहोस्